रत्ननगर नगरपालिकाको ३४औँ अधिवेशन : विनियोजन ऐन पहिलो संशोधन विधेयक पारित

रत्ननगर । रत्ननगर नगरकार्यपालिकाको नगरसभाको ३४औँ अधिवेशन नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ ।
नगरसभामा आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा संशोधन गर्न बनेको ‘विनियोजन ऐन पहिलो संशोधन विधेयक २०८०’ सर्वसम्मतबाट पारित भएको छ ।
विनियोजन ऐन संशोधन समितिका संयोजक उपप्रमुख यादवप्रसाद पाठकले वडातहमा छनोट गरिएका योजना सम्पन्न हुन नसकेका कारण अन्य शीर्षकमा रकमान्तर गर्नुपरेको बताउँदै आगामी वर्ष दीर्घकालीन योजना छनोट गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सामाजिक समितिका संयाजक बालकृष्ण चापागाईंले ज्येष्ठ नागरिक तथा बालसञ्जाल गठनसम्बन्धी निर्णयार्थ पेश गरेको प्रस्ताव वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे र कार्यपालिका सदस्य बबिताकुमारी चौधरीले समर्थन गरेका थिए । ज्येष्ठ नागरिकको हकहित र प्रवद्र्धन तथा बालबालिकालाई संगठित गरी बालमैत्री शासन लागू गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
यस्तै, सुशासन समितिका संयोजक कलाधर पौडेलले न्यायिक समितिको अधिकार वडाबाटै निरुपण गर्नुपर्ने प्रस्तावको जवाफ दिँदै न्यायिक समितिका संयोजक यादवप्रसाद पाठकले वडास्तरीय मेलमिलाप समितिलाई सो अधिकार रहेको र वडाबाट निरुपण हुन नसकेका मुद्दाहरुमात्र नगरस्तरीय मेलमिलाप समितिमा पठाउन सकिने बताए ।
नगरसभामा नगरप्रवक्ता कुलप्रसाद सापकोटाले मन्तव्य राखेको सभामा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले सहजीकरण गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker