बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शव वाहन सेवा सुचारु

रत्ननगर, माघ १४ । बकुलहर रत्ननगर अस्पतालमा आज (आइतवार) देखि निःशुल्क शव वाहन सेवा सुचारु गरिएको छ ।
रत्ननगरका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालद्वारा संयुक्त रुपमा शव वाहनको एक औपचारिक कार्यक्रमका बिच सेवा शुभारम्भ गरिएको हो ।
बकुलहर रत्ननगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले अस्पतालमा आइतवारदेखि नै लागू हुने गरी निःशुल्क शव वाहन सेवा सुरु गरिएको जानकारी दिए ।
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै शव वाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको उनको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका सामाजिक विकाश समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईले आपत बिपतको समयमा महंगो शुल्क कसरी तिर्ने पिरोलिरहेको समयमा शव वाहनले रत्ननगरका जनतालाई धेरै राहत प्रदान गर्ने बताए ।
नगर स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको शव वाहन (एम्बुलेन्स) को सम्पूर्ण व्यवस्थापन खर्च रत्ननगर नगरपालिकाले बेहोर्ने जानकारी दिए । शव वाहनको लागि नगरले वार्षिक रु ५ लाख रुपैँया छुट्याएको बताए ।
नगर भित्रका नागरिकलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले शव वाहन सेवा शुभारम्भ गरिएको भएतापनि नगर भन्दा बाहिरकाले प्रयोग गरेमा केही रकम शुल्क लाग्ने उनको भनाई छ । त्यसबाट आएको रकम नागरिक सहायता कोषमा नै जम्मा हुने उनले जानकारी दिए ।
पछिल्लो समय अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सुविधा भएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कर्माचायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतो, ९ का वडा अध्यक्ष अनन्त अधिकारी, १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे (सुवास), अस्पतालका डाक्टर तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अस्पतालका जनस्वास्थ्य निरिक्षक राम चन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका मेसु डा.मदन ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker