अध्ययनको निष्कर्ष : प्रकृतिमैत्री देशको सूचीमा नेपाल विश्वमै पहिलो स्थानमा
- रोयल स्विडिस एकेडेमी अफ साइन्सको एम्बियो जर्नलमा प्रकाशित एक अध्ययनअनुसार नेपाल विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश बनेको छ।
- विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको सर्वेक्षणमा नेपालीहरुको प्रकृतिसँगको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्ध सर्वाधिक रहेको पाइएको छ, जसमा नेपालले १.३९ अंकसहित पहिलो स्थान हासिल गरेको छ।
- इरान र दक्षिण अफ्रिका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने स्पेन र जापान सबैभन्दा कम प्रकृतिसँग जोडिएका देश हुन्।
- अध्ययनले अध्यात्म र धार्मिक आस्थाले प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने देखाएको छ, जबकि बजारमैत्री अर्थतन्त्र, सहरीकरण र उच्च इन्टरनेट प्रयोग भएका देशहरूमा यो सम्बन्ध कमजोर पाइएको छ।
नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा प्रकृतिमैत्री देश ठहर गरेको हो ।
प्रकृतिसँग देशका जनताको संवेगात्मक तथा मनोवैज्ञानिक सम्बन्धका विषयमा विश्वका ६१ देशका ५७ हजार मानिसमा गरिएको अध्ययनले नेपालीहरुमा सर्वाधिक प्रकृतिप्रेम रहेको देखाएको छ ।
उक्त सर्भेक्षणमा मानिसको प्रकृतिप्रतिको व्यवहार तथा दृष्टिकोणलाई कसरी सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक पक्षहरुले प्रभाव पार्दछन् भन्ने कुराको समीक्षा गरिएको थियो ।

त्यस क्रममा १.३९ अंक सहित नेपाल पहिलो स्थानमा पर्न सफल भएको छ।
उक्त सूचीमा १.२२ अंक सहित इरान दोश्रो स्थानमा छ भने तेश्रो स्थानको दक्षण अफ्रिकाले १.२० अंक पाएको छ ।
सर्वाधिक प्रकृतिमैत्री जनता भएका अन्य टपटेन मुलुकहरुमा क्रमशः बंगलादेश, नाइजेरिया, चिली, क्रोएसिया, घाना, बुल्गेरिया र ट्युनिसिया रहेका छन् ।

यसरी प्रकृतिसँग सर्वाधिक जोडिएका शीर्ष १० देशको सूचीमा केवल दुईवटा मात्रै युरोपेली देश मात्र पर्न सफल भएका छन् । यो सूचीमा अर्को युरोपेली मुलुक फ्रान्स १९औं स्थानमा रहेको छ ।
प्रकृतिसँग सर्वाधिक जोडिएका देशहरुको शीर्ष सूचीमा अधिकांश एसिया तथा अफ्रिकाका देश रहँदा स्पेन भने यो सूचीको सबैभन्दा पुछारमा रहेको छ । उसको माइनस ०.६१ अंक छ । त्यसैगरी जापान अन्तिमबाट दोश्रो स्थानमा छ ।
प्रकृतिसँग सबैभन्दा कम जोडिएका पुछारका १० देशमा रुस, आयरल्याण्ड, साउदी अरब, बेलायत, नेदरल्याण्ड, क्यानडा, जर्मनी, इजरायल, जापान र स्पेन रहेका छन् ।
ब्रिटिस तथा अष्ट्रियन शोधकर्ताहरुको नेतृत्वमा भएको उक्त अध्ययनले अध्यात्म र धार्मिक आस्थाले मानिसहरुको प्रकृतिसँगको सम्बन्धलाई गहन बनाउने सर्वाधिक शक्तिशाली तत्व रहेको देखाएको छ ।

रोचक त के भने देशको बजारमैत्री अर्थतन्त्रको स्तर प्रदर्शन गर्ने विश्व बैंकको डोइंग बिजनेस इन्डेक्समा उच्च स्थानमा रहेका देशहरु प्राकृतिक वातावरणसँगको सम्बन्धको हिसाबले कमजोर देखिएका छन् । त्यसैगरी सहरीकरणको स्तर, औसत आय तथा इन्टरनेट प्रयोगको दरले पनि प्रकृतिसँगको आबद्धतालाई प्रभाव पार्ने देखिएको छ ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस