रत्ननगरको सार्वजनिक सुनुवाई : नगर गौरवका आयोजना अगाडि बढाउन नगरबासीको आग्रह

लोकप्रिय खबर
७ मंसिर २०८२, आइतबार
सारांश
Summary by AI
  • यहाँ लेखको संक्षिप्त सारांश बुँदामा प्रस्तुत गरिएको छ:
  • रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरी चार महिनाको कार्यप्रगति र भावी योजनाबारे छलफल गरेको छ।
  • तोडफोड र आगजनीबाट ध्वस्त भएका नगरपालिकाका प्रशासकीय भवन र वडा कार्यालयहरूको पुनर्निर्माणका लागि ‘पुनर्निर्माण तथा व्यवस्थापन कोष’ स्थापना गरी काम सुरु गरिएको छ।
  • सार्वजनिक सुनुवाईमा नगरबासीहरूले सरसफाई, लागुऔषध नियन्त्रण, स्वास्थ्य, शिक्षा, र पूर्वाधार निर्माण जस्ता विषयमा प्रश्न, गुनासा र सुझाव राखेका थिए, जसको जवाफ नगरप्रमुख र सम्बन्धित अधिकारीहरूले दिएका थिए।
00:00 / 00:00
🔊
Audio By AI

रत्ननगर, मंसिर ७ ।

पूर्वी चितवनस्थित रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । चार महिनाको अवधिमा नगरपालिकाले सम्पादन गरेका कामकारबाही, मूल्याङ्कन, सुशासन तथा सेवा प्रवाहका विषयमा नगरबासीहरूबाट प्राप्त सुझावका आधारमा भावी योजना निर्माण गर्न यो कार्यक्रम आयोजना गरिएको हो ।

नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले चार महिनाको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाँले जेनतेन प्रदर्शनकारीको तोडफोड र आगजनीबाट ध्वस्त भएको नगरपालिकाको दुईवटा प्रशासकीय भवन तथा १६ वटा वडा कार्यालयको पुनर्निर्माणका लागि विशेष नगरसभा आह्वान गरी ‘पुनर्निर्माण तथा व्यवस्थापन कोष’ निर्माण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले प्रशासकीय र वडा कार्यालय भवनको पुनर्निर्माण कार्य थालिसकेको पनि उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिकाले १ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । कुल बजेटमध्ये चालु खर्चतर्फ ८७ करोड र पुँजीगततर्फ ५५ करोड रुपैयाँ छुट्याइएकोमा विशेष नगरसभाले चालु खर्चतर्फको ५ करोड रुपैयाँ पुँजीगत खर्चमा सारेपछि पुनर्निर्माणको काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउनुभयो । चालु आर्थिक वर्षको चार महिनामा साना–ठूला गरी ६० वटा योजनाका लागि २४ करोड रुपैयाँको ठेक्का लागिसकेको र ११ करोड रुपैयाँ बराबरको योजनामा सम्झौता भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

नगरबासीहरूले नगर गौरवका ठूला आयोजना अगाडि बढाउन जनप्रतिनिधिहरूसँग आग्रह गरेका छन् । सार्वजनिक सुनुवाईमा कृष्णसार स्थानान्तरण, वाटर किङ्डम, हरियाली पार्क, सरसफाई, लागुऔषध दुरुपयोग नियन्त्रण, विद्युत आपूर्ति, फुटपाथ व्यवस्थापन, स्वास्थ्य सेवा, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण तथा शिक्षा र स्वास्थ्यका विषयमा प्रश्न, गुनासा र सुझाव प्राप्त भएका थिए ।

कार्यक्रममा उद्यमशील महिला समूहकी अध्यक्ष गीता सिंखडा, पत्रकार तथा लेखक फणीन्द्रप्रसाद लामिछाने, सामुदायिक सडक सुरक्षा मञ्चका अध्यक्ष चन्द्रकान्त ओझा, अगुवा युवा दीपक थापा, रत्ननगर खानेपानी ३ नं. वडा समितिका संयोजक शम्भूभक्त थपलिया, नेता रुद्र गुरुङ, सौराहाका व्यवसायी गोकर्ण गिरी, टोल विकास संस्थाका अध्यक्षहरू अम्बिका पुरी, लक्ष्मीधर शर्मा, लक्ष्मी पौडेल, बेदप्रसाद पाण्डे, युवाहरू किरण श्रेष्ठ, दीपक पुरी, चित्रसेन बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आशाराम महतो लगायतले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विकास निर्माण, सुशासन तथा लागुऔषध दुरुपयोग नियन्त्रणका विषयमा केन्द्रित रहेर प्रश्न, गुनासा र सुझाव राख्नुभएको थियो ।

नगरबासीका प्रश्नको जवाफ दिँदै नगरप्रमुख सापकोटाले रत्ननगरलाई विकासको उचाइमा पुर्‍याउने गरी काम भइरहेको तर जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले लक्ष्यमा पुग्न कठिनाइ भएको बताउनुभयो । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उहाँले रत्ननगरसहित पूर्वी चितवनका चारवटै पालिकाका अति विपन्न नागरिकको उपचारका लागि बकुलहर रत्ननगर अस्पताल र भरतपुर सरकारी अस्पतालमा मेडिकल कोष स्थापना गरिएको जानकारी दिनुभयो । “पैसा नभएर कोही पनि उपचार र शिक्षाबाट वञ्चित हुनुपर्दैन, उपचार गर्न नसक्नेको उपचार र आर्थिक अभावका कारण पढ्न नसक्नेलाई स्थानीय सरकारले शिक्षा प्रदान गर्छ” उहाँले भन्नुभयो ।

उपप्रमुख यादवप्रसाद पाठकले सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने विषय स्थानीय सरकारको क्षेत्राधिकारमा नपर्ने स्पष्ट गर्नुभयो । रत्ननगरमा विवरण सङ्कलन र जग्गा नापजाँचको काम सकिएको र अब सुकुम्बासी समस्या समाधान आयोगले लालपुर्जा वितरण मात्र गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा. अङ्कुर पौडेल, नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरी र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शोभाकान्त विक्रम राणाले आफ्ना क्षेत्रका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

प्रस्तुति मिडियाको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडासदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधि, महिला समूह तथा आमा समूहका प्रतिनिधि र नगरबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI