नयाँ मर्मस्पर्शी गीत ‘मनको भारी बिसाउने’ सार्वजनिक

गायक शिव परियारको स्वरमा नयाँ गीत ‘मनको भारी बिसाउने’ सार्वजनिक

लोकप्रिय खबर
२६ वैशाख २०८३, शनिबार

काठमाडौं : नेपाली सांगीतिक बजारमा नयाँ मर्मस्पर्शी गीत ‘मनको भारी बिसाउने’ सार्वजनिक भएको छ। चर्चित गायक शिव परियारको सुमधुर स्वर सजिएको यस गीतमा शब्द सुबास अधिकारीले लेखेका हुन् भने संगीत दीपक शर्माले भरेका छन्।

गीतले मुख्यगरी प्रेम, पीडा, सम्झना र बिछोडको भावलाई प्रस्तुत गरेको छ। “मनको भारी बिसाउने ठाउँ कहाँ छ?” भन्ने गहिरो प्रश्नमार्फत गीतले मानिसको भित्री वेदना र भावनात्मक संघर्षलाई उजागर गर्ने प्रयास गरेको छ। गीतका शब्दहरूले प्रेममा धोका खाएको मनको पीडा, एक्लोपन र सम्झनाको तड्पाइलाई निकै मार्मिक ढंगले चित्रण गरेका छन्।

अडियोतर्फको कामलाई पनि निकै उत्कृष्ट बनाइएको छ। यस गीतमा संगीत संयोजन सबिन सुबेदीले गरेका छन्। ‘वेभ स्टुडियो’ मा रेकर्ड गरिएको यस गीतको मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोगीले गरेका हुन्।

गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोमा मोडल सुरेश कोहली र बिना राउतको मुख्य अभिनय देख्न सकिन्छ। उनीहरूका साथै मिलन खड्का, क्रिश राई, रबिन लामिछाने, समिर भट्टराई, अजय कार्की, युगल श्रेष्ठ र अग्निश्री विश्वकर्माले पनि भिडियोमा जीवन्त अभिनय गरेका छन्। म्युजिक भिडियोको निर्देशन तथा सम्पादन केर डी. कोईन्च लिनुचले गरेका हुन् भने छायांकन तथा कलरिङको जिम्मेवारी योगेश दाहालले सम्हालेका छन्।

भावुक शब्द, मधुर संगीत र कलाकारहरूको उत्कृष्ट अभिनयको संयोजन रहेको ‘मनको भारी बिसाउने’ ले दर्शक तथा श्रोताको मन जित्ने निर्माण पक्षको अपेक्षा छ। प्रेम र पीडाको गहिरो अनुभूति बोकेको यो गीत सार्वजनिक भएसँगै अहिले सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल प्लेटफर्महरूमा राम्रो चर्चा बटुल्न थालेको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI