ढुंगा खोपेर जीवन्त कला सिर्जना गर्दै सुमन परियार

लोकप्रिय खबर
२५ असार २०८३, बिहिवार

रत्ननगर । चितवनको रत्ननगर–१२, घोलचोकमा सञ्चालित गोरखकाली मूर्तिकला यतिबेला ढुंगामा कला कुँद्ने सीपका कारण परिचित बन्दै गएको छ। यसका सञ्चालक सुमन परियार विगत १५ वर्षदेखि ढुंगा खोपेर विभिन्न देवी–देवता, धार्मिक तथा कलात्मक मूर्ति निर्माण गर्दै आएका छन्।

पारिवारिक रूपमा मूर्तिकलासँग जोडिएका परियारले यो सीप आफ्ना बुवाबाट सिकेको बताउँछन्। बाल्यकालदेखि नै बुवासँग बसेर ढुंगा खोप्ने कला सिकेका उनी अहिले यसैलाई आफ्नो मुख्य पेशा बनाउँदै आएका छन्।

परियारका अनुसार उनले हालसम्म एक हजारभन्दा बढी मूर्ति निर्माण गरिसकेका छन्। उनका हातबाट बनेका मूर्तिहरू चितवनसहित देशका विभिन्न स्थानका मन्दिर, सार्वजनिक स्थल तथा व्यक्तिगत घरहरूमा स्थापना गरिएका छन्।

सामान्य आकारका मूर्तिदेखि लिएर करिब ६ फिट उचाइसम्मका ठूला ढुंगे मूर्ति निर्माण गरेको अनुभव परियारसँग रहेको छ। कडा ढुंगालाई छिनो र हथौडाको सहायताले कलात्मक रूप दिने काम निकै मेहनत, धैर्य र सीपको विषय भएको उनी बताउँछन्।

बजारमा आधुनिक मेसिन र फाइबरका मूर्तिको प्रयोग बढ्दै गए पनि प्राकृतिक ढुंगामा कुँदिएका मूर्तिको महत्व र आकर्षण अझै कायम रहेको उनको अनुभव छ। ढुंगामा बनाइएका मूर्तिहरू टिकाउ, कलात्मक र सांस्कृतिक दृष्टिले विशेष महत्वका हुने भएकाले यसको माग निरन्तर रहेको उनी बताउँछन्।

परम्परागत नेपाली मूर्तिकलालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म सीप हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै परियारले राज्यबाट यस्ता हस्तकलामा संलग्न कलाकारलाई प्रोत्साहन र संरक्षण मिल्नुपर्ने धारणा व्यक्त गरेका छन्।

पुर्खौंदेखि आएको सीपलाई निरन्तरता दिँदै ढुंगामा जीवन्त कला उतारिरहेका सुमन परियार आज रत्ननगरका मात्र होइन, नेपाली मौलिक मूर्तिकलाका एक मेहनती र समर्पित कलाकारका रूपमा परिचित बन्दै गएका छन्।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI