बढ्दो आत्महत्या न्यूनीकरणका लागि स्वास्थ्यकर्मीलाई बकुलहर रत्ननगर अस्पतालको प्रशिक्षण

लोकप्रिय खबर
१९ असार २०८३, शुक्रवार

रत्ननगर, असार १९ ।

बकुलहर रत्ननगर अस्पतालको आयोजनामा स्वास्थ्यकर्मीहरूका लागि आत्महत्या न्यूनीकरणसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । समाजमा पछिल्लो समय बढ्दै गइरहेको आत्महत्याको दरलाई कम गर्न र मानसिक स्वास्थ्यका सवालमा स्वास्थ्यकर्मीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले नेपालको वर्तमान अवस्था चिन्ताजनक रहेको बताए । उनले नेपालमा औसतमा दैनिक १४ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै अधिकांश आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको जानकारी दिए । यस किसिमको प्रशिक्षण कार्यक्रमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गरी आत्महत्या न्यूनीकरणमा महत्त्वपूर्ण टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण अस्पतालका मनोरोग विशेषज्ञ डा. बिबेक मालाकार र ब्युटीफुल माइन्डकी डा. सोनु भट्टराईले गरेका थिए । उनीहरूले प्रशिक्षणका क्रममा मानसिक तनाव र डिप्रेसनका प्रारम्भिक लक्षणहरूलाई कसरी पहिचान गर्ने, समयमै सही परामर्श दिएर सम्भावित आत्महत्या जोखिमबाट मानिसहरूलाई कसरी जोगाउन सकिन्छ, समुदायस्तरमा मानसिक स्वास्थ्यबारे सचेतना फैलाउन स्वास्थ्यकर्मीहरूले खेल्नुपर्ने भूमिका र मानसिक स्वास्थ्यको समयमै पहिचान तथा सही परामर्श नै आत्महत्या रोक्ने सबैभन्दा राम्रो उपाय भएको बताए ।

अस्पतालका सिनियर अहेव अधिकृत नारायण ढुङ्गानाले सञ्चालन गरेको उक्त कार्यक्रममा वरिष्ठ नर्सिङ अधिकृत विष्णु कुमारी श्रेष्ठ, अस्पतालका विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI