रत्ननगरमा भू-उपयोग वर्गीकरणको प्रतिवेदन सार्वजनिक: कुन क्षेत्रमा कति जग्गा? (तथ्याङ्कसहित)

विस्तृत प्रतिवेदन मालपोत र नापी कार्यालयमा विधिवत् हस्तान्तरण

लोकप्रिय खबर
७ असोज २०८३, बुधबार

चितवन, असाेज
रत्ननगर नगरपालिकाले आफ्नो समग्र नगर क्षेत्रभित्र रहेका जग्गाधनीहरूको भूमिको भू-बनोट, उपयोग र अवस्थितिका आधारमा गरिएको कित्तागत वर्गीकरणलाई अन्तिम रूप दिँदै सार्वजनिक गरेको छ। सर्वसाधारण नागरिक तथा सरोकारवालाहरूको जानकारीका लागि सार्वजनिक गरिएको सो वर्गीकरण सम्बन्धी विस्तृत प्रतिवेदन मालपोत र नापी कार्यालयमा विधिवत् हस्तान्तरण गरिएको छ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठक तथा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्लास्थित भूमि प्रशासन (मालपोत) कार्यालय र नापी कार्यालय पुगेर सो तयार पारिएको अन्तिम प्रतिवेदन बुझाएको हो। प्रतिवेदन हस्तान्तरणसँगै अब उप्रान्त जग्गाको कित्ताकाट, दाखिला खारेज, किनबेच तथा दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण प्रशासनिक कार्यहरू सोही स्वीकृत भू-उपयोग वर्गीकरणका आधारमा मात्रै गर्न र गराउन नगरपालिकाका तर्फबाट अनुरोध गरिएको छ।

सो प्रतिवेदनको प्रभावकारी कार्यान्वयनका क्रममा आउन सक्ने व्यावहारिक जटिलता र सम्भावित समस्याहरूलाई समाधान गर्नका लागि सम्बद्ध सरकारी कार्यालयहरूबीच निरन्तर समन्वय र सहकार्य कायम राख्दै नागरिकलाई सहज सेवा प्रदान गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ। यसैबीच, मालपोत कार्यालय भरतपुरका तर्फबाट भू-उपयोग ऐन र नियमको भावना अनुसार वडा तहबाटै जग्गाको वर्गीकरण अनुरूपको स्पष्ट सिफारिस प्राप्त हुनुपर्ने विषयमा विशेष ध्यानाकर्षण गराइएको छ।
प्रतिवेदन अनुसार रत्ननगर नगरपालिकाको कुल क्षेत्रफलको आधारमा भू-उपयोगका विभिन्न क्षेत्रहरू विभाजन गरिएको छ। नापी नक्सामा समेटिएका ७७ हजारभन्दा बढी कित्ता र फाइल नक्सा तथा ब्लक जग्गाहरूसहित ३ हजारभन्दा बढी गरी कुल ८० हजारभन्दा बढी कित्ता जग्गालाई वर्गीकरणको प्रक्रियामा समावेश गरिएको छ।

नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रत्ननगरको भूमिमा सबैभन्दा ठूलो हिस्सा आवासीय क्षेत्रले ओगटेको छ। कुल वर्गीकृत क्षेत्रमध्ये सबैभन्दा बढी ३९.२६ प्रतिशत जग्गा आवासीय क्षेत्रका रूपमा तोकिएको छ भने दोस्रो ठूलो हिस्सा कृषि क्षेत्रले ओगटेको छ, जुन २०.९७ प्रतिशत रहेको छ।

यस्तै, नगरको आर्थिक र व्यापारिक गतिविधिलाई व्यवस्थित बनाउन १८.६० प्रतिशत भूभागलाई व्यावसायिक क्षेत्र र ०.२७ प्रतिशत भूभागलाई औद्योगिक क्षेत्रका रूपमा वर्गिकरण गरिएको छ। वातावरणीय सन्तुलन र संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन क्षेत्रले ७.४३ प्रतिशत र बगर तथा सिमसार क्षेत्रले २.६४ प्रतिशत भूभाग ओगटेको छ। यसैगरी सार्वजनिक उपयोगको क्षेत्र ७.५६ प्रतिशत रहेको छ। यी प्रमुख सूचकहरू मिलाएर कुल ९६.४३ प्रतिशत भूभागको स्पष्ट उपयोग तोकिएको छ भने बाँकी रहेको ३.५७ प्रतिशत भूभागलाई अन्य क्षेत्रका रूपमा वर्गीकरण गरिएको जानकारी नगरपालिकाले दिएको छ।

स्थानीय आवश्यकता र भूमिको उपयुक्तताका आधारमा गरिएको यो कित्तागत वर्गीकरणले रत्ननगरलाई व्यवस्थित, सुरक्षित र दिगो रूपमा विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI