दूधकोशी नमुना सामुदायिक वनको २६औँ वार्षिक साधारण सभा सम्पन्न: ५८ लाखभन्दा बढीको आय–व्यय अनुमोदन
राप्ती (चितवन): चितवनको राप्ती नगरपालिका–९ स्थित श्री दूधकोशी नमुना सामुदायिक वन उपभोक्ता समूहको २६औँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष फत्तेजङ्ग तामाङको अध्यक्षतामा आयोजित उक्त साधारण सभाको प्रमुख आतिथ्यता राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाले गर्नुभएको थियो। कार्यक्रममा समूहका सचिव, कोषाध्यक्ष, लेखा समितिका संयोजक लगायत कार्यसमितिका पदाधिकारी, स्थानीय अगुवा, सञ्चारकर्मी तथा ठूलो संख्यामा उपभोक्ता सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगर उपप्रमुख देवेन्द्र लामाले दूधकोशी नमुना सामुदायिक वनले जैविक विविधताको संरक्षणसँगै गरिबी न्यूनीकरण र सामाजिक उत्तरदायित्व वहनमा देखाएको सक्रियता उदाहरणीय रहेको बताउनुभयो। उहाँले “सामुदायिक वन केवल काठ–दाउरा र वन पैदावार संकलन गर्ने माध्यम मात्र नभई स्थानीय समुदायको आर्थिक सशक्तीकरण, पर्यावरणीय सन्तुलन र सामाजिक न्यायको बलियो मेरुदण्ड हो” भन्दै संस्थाले विपन्न उपभोक्ताको काजकिरिया, जटिल रोगको उपचार, सुत्केरी पोषण तथा आकस्मिक स्वास्थ्य सहयोगमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। साथै, स्थानीय सरकार सामुदायिक वनहरूसँग निरन्तर सहकार्य गर्दै वन उद्यमको विस्तार, वैज्ञानिक वन व्यवस्थापन र पर्या–पर्यटनका सम्भावनाहरू उजागर गर्न सदैव तत्पर रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को विस्तृत आर्थिक प्रतिवेदन अनुसार समूहको कुल प्राप्ति तथा भुक्तानी ५८ लाख ७४ हजार ७८५ रुपैयाँ ६६ पैसा बराबरको कारोबार अनुमोदन गरिएको छ। समूहले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको १६ लाख ७३ हजार २९ रुपैयाँ ९४ पैसा मौज्दातबाट वर्षको सुरुआत गरेको थियो। समीक्षा अवधिमा आन्तरिक वन पैदावार बिक्रीतर्फ चिरान काठबाट २९ लाख ८७ हजार ६३९ रुपैयाँ, दाउराबाट १ लाख ६२ हजार ७० रुपैयाँ, बाकलबाट १ लाख ११ हजार ४७० रुपैयाँ, गोलियाबाट ८३ हजार ७०५ रुपैयाँ, स्ट्रीम काठबाट ६८ हजार १६० रुपैयाँ, बाँसबाट ५९ हजार १० रुपैयाँ र चाँपको चिरानबाट ३३ हजार ९५० रुपैयाँ आम्दानी भएको छ। यसका अतिरिक्त बैंक ब्याजबाट २ लाख ३३ हजार २०९ रुपैयाँ ९७ पैसा, उन्नत पशुपालन लगानी असुलीबाट २ लाख रुपैयाँ तथा सदस्यता नवीकरण, हर्जना र विविध सेवा शुल्कबाट थप रकम संकलन भएको छ।
खर्चतर्फ समूहले वनको दिगो संरक्षण र सदुपयोगलाई प्राथमिकतामा राख्दै जफत वन पैदावार संकलनमा ५ लाख ३५ हजार ५९२ रुपैयाँ, गोलिया गिडानमा ३ लाख ८ हजार ६५० रुपैयाँ, गोलिया संकलनमा १ लाख ६६ हजार ७४ रुपैयाँ, प्रत्यक्ष ज्यालामा १ लाख ३३ हजार ६३० रुपैयाँ, पालेपहरा रेखदेखमा १ लाख ४ हजार ८०० रुपैयाँ तथा वन हेरालुमार्फत संरक्षणमा ७९ हजार ८३२ रुपैयाँ परिचालन गरेको छ। सामाजिक विकास र गरिबी न्यूनीकरण अन्तर्गत विपन्न उपभोक्ताको काजकिरिया सहयोगमा १ लाख ९६ हजार १०५ रुपैयाँ, सुत्केरी पोषणमा २७ हजार रुपैयाँ, रक्तदान कार्यक्रममा २० हजार ५८५ रुपैयाँ, जटिल रोगको उपचारमा १९ हजार रुपैयाँ र गोरेटो बाटो तथा सडक बत्ती सुधारमा ४० हजार ४०० रुपैयाँ खर्च गरिएको छ। प्रशासनिक र संस्थागत सञ्चालनतर्फ कर्मचारी तलबमा ६ लाख ३५ हजार ७३४ रुपैयाँ, साधारण सभा भत्तामा ३ लाख ५० हजार ६२५ रुपैयाँ, समूह अधिवेशनमा २ लाख ३९ हजार ८९५ रुपैयाँ, कार्यालयीय विविध खर्च, पुँजीगत सम्पत्ति खरिद तथा राजस्व दायित्व भुक्तानी पश्चात् वर्षको अन्त्यमा बैंक तथा नगद मौज्दात ७ लाख ५५ हजार २४२ रुपैयाँ ६३ पैसा सुरक्षित रहेको जानकारी गराइयो।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष फत्तेजङ्ग तामाङले साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न अमूल्य समय दिएर उपस्थित हुनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, सल्लाहकार, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो। उहाँले संस्थाको हरेक गतिविधिमा काँधमा काँध मिलाई प्रत्यक्ष साथ र रचनात्मक सुझाव दिने सम्पूर्ण उपभोक्ता सदस्यहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि वनको वैज्ञानिक संरक्षण, उपभोक्तामैत्री पारदर्शिता र गरिबी न्यूनीकरणका योजनाहरूलाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस