झुवानी माविका आठ जना विद्यार्थीलाई शैक्षिक सहयोग

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविमा अध्यायन गर्ने आठ जना विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सहयोग गरिएको छ ।

रत्ननगर नगरपालिकाको सहयोग तथा रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा संचालित बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत बालमैत्री दिगोपनका लागि आठ जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो । संघका अध्यक्ष शंकर गिरीको अध्यक्षता तथा वडा अध्यक्ष बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा वडाध्यक्ष चापागाईंले बालबालिकालाई गरिएको शैक्षिक सहयोगबाट अभिभावकलाई ठुलो मद्दत पुग्ने बताए ।

संघका अध्यक्ष गिरीले सामाजिक उत्तरदायित्व बहन गर्दैै समाज रुपान्तरणको लागि पारिवारिक तथा आर्थिक समस्याका कारण समस्यामा परेका बालबालिकालाई विद्यालय निरन्तरताका लागि सहयोग गरिएको बताए । विद्यालयका प्राचार्य नविनचन्द्र भट्टराईले सहयोग पश्चात बालबालिका विद्यालय नियमित हुन सहयोग पुग्ने बताए । कार्यक्रममा बाल क्लबका अध्यक्ष आयुष बरालले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य, युवा समाजसेवी तथा सहयोग प्राप्त बालबालिकाका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो । बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रमका लक्ष्मी पौडेलले कार्यक्रमको संचालन गरेकी थिइन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker