च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै पूर्णबहादुर
- यहाँ लेखको संक्षिप्त सारांश बुँदामा प्रस्तुत गरिएको छ:
- मुस्ताङका पूर्णबहादुर नेपालीले च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु. ५ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।
- उनले पाँच वर्षअघि रु. १ हजारको सानो लगानीबाट यो व्यवसाय सुरु गरेका थिए र हाल उनको फार्ममा १३० भन्दा बढी च्याङ्ग्रा छन्।
- च्याङ्ग्राको पाठापाठी र मल बिक्री उनको आम्दानीको मुख्य स्रोत हो, जहाँ उनले मल बिक्रीबाट मात्रै वार्षिक रु. २ लाखभन्दा बढी कमाइ गर्छन्।
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। पाँच वर्षअघि हिमाली उपआयोजनाको अनुदान सहयोगमा उनले रु एक हजार लगानीबाट यो व्यवसाय सुरु गरेका थिए।
सुरुमा दलित समुदायका ३० घरधुरीले सामूहिक रूपमा च्याङ्ग्रापालन सुरु गरेका थिए, जसअन्तर्गत प्रतिघरधुरीले रु एक हजार तिरेर तीन/तीनवटा माउ (रमा) च्याङ्ग्रा पाएका थिए। तर, सामूहिक पालनमा कठिनाइ र च्याङ्ग्रा हराउने/मर्ने समस्या आएपछि एक वर्ष नबित्दै उनीहरूले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे।
भागबन्डामा दुईवटा च्याङ्ग्रा पाएका पूर्णबहादुरले त्यसमा थप १० वटा च्याङ्ग्रा जोडेर १२ वटाबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरे। उनको फार्ममा हाल १३० भन्दा बढी च्याङ्ग्रा छन्। यसै वर्ष मात्र उनले रु ४० हजार मूल्यमा २० वटाभन्दा बढी च्याङ्ग्रा बिक्री गरेका थिए।
च्याङ्ग्रापालनबाट हुने मुख्य आम्दानी मल उत्पादन र पाठापाठी बिक्रीबाट हुने गर्दछ। पूर्णबहादुर बर्सेनि २०० झोपा मल बिक्री गरेर रु दुई लाखभन्दा बढी आम्दानी गर्छन्। उनी भन्छन्, “मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ।”
जलवायु परिवर्तन र हिउँचितुवा जस्ता वन्यजन्तुको जोखिमका कारण धेरैले यो व्यवसाय छोडे पनि पूर्णबहादुरले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस