मनहरी गाउँपालिकामा ‘स्थानीय तहमा तथ्याङ्कीय साक्षरता’ कार्यक्रम सम्पन्न
प्रमाणमा आधारित योजना तथा नीति निर्माणका लागि तथ्याङ्कको सही प्रयोगमा जोड
मनहरी (मकवानपुर), २२ असोज । स्थानीय तहमा तथ्याङ्कीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मनहरी गाउँपालिकामा ‘स्थानीय तहमा तथ्याङ्कीय साक्षरता’ कार्यक्रम सम्पन्न भएको छ। तथ्याङ्क समन्वय अधिकारी तुलसीराम पोख्रेलको अध्यक्षता एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायको विशेष आतिथ्यतामा बिहीबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

दोस्रो राष्ट्रिय तथ्याङ्क प्रणाली विकास रणनीति (NSDS-II) अन्तर्गत रणनीति ३.५.१२(१०), ४.२.२(१५) र ४.४.३ मा उल्लेखित तथ्याङ्कीय साक्षरता तथा पैरवी अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने व्यवस्था अनुसार यस कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय तहमा तथ्याङ्क ऐन, राष्ट्रिय तथ्याङ्क प्रणाली, आधिकारिक तथ्याङ्कका आधारभूत सिद्धान्त, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा तथ्याङ्क समन्वय कार्यालयको भूमिका एवम् तथ्याङ्क उत्पादन, व्यवस्थापन, भण्डारण र प्रयोगबारे सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै तथ्याङ्क अधिकृत रेणु कुमारी घिमिरेले तथ्याङ्क केवल अङ्कहरूको सङ्ग्रह मात्र नभई यसले समाज, अर्थतन्त्र र विकासको वास्तविक अवस्था उजागर गर्ने बताउनुभयो। उहाँले स्थानीय तहमा तथ्याङ्कको महत्त्व, आवश्यकता र उपयोगिताबारे जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूमा सचेतना जगाउन कार्यक्रमले सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो। तथ्याङ्क समन्वय कार्यालयका कर्मचारी विष्णु कार्कीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष तुलसीराम पोख्रेलले तिनै तहका सरकारको तथ्याङ्क उत्पादनको अधिकार, समन्वय, सह-अस्तित्व र आधिकारिक तथ्याङ्क संकलनमा सहकार्यको आवश्यकतामाथि प्रकाश पार्नुभयो।

कार्यक्रमका विशेष अतिथि एवं प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले आधिकारिक तथ्याङ्क प्रणाली, मापदण्ड, प्रकाशन र वेब पेजको प्रयोग विद्यालय र विद्यार्थीहरूका लागि उपयोगी हुने बताउनुभयो। योजना तथा नीति निर्माणमा तथ्याङ्कको प्रभावकारी भूमिका रहने उल्लेख गर्दै उहाँले भन्नुभयो, “तथ्याङ्क बुझौँ, तथ्याङ्कको माग बढाऔँ, तथ्याङ्कको सही प्रयोग गरौँ र प्रमाणमा आधारित निर्णय निर्माण गरौँ।”

कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुली, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी, प्राध्यापक तथा विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमले स्थानीय तहमा तथ्याङ्कप्रतिको बुझाइ बढाउनुका साथै प्रमाणमा आधारित योजना र नीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।








लोकप्रिय खबर


प्रतिक्रिया दिनुहोस