चेपाङ संरक्षण केन्द्रलाई रोयल राइनो राइडर्सको नगद र खाद्यान्न सहयोग

लोकप्रिय खबर
२७ मंसिर २०८२, शनिबार

रत्ननगर, मंसिर २७ ।
पूर्वी चितवनको रत्ननगरमा रहेको गामवेसी चेपाङ संरक्षण केन्द्रलाई रोयल राइनो राइडर्स एमसी चितवनले नगद तथा खाद्यान्न सहयोग गरेको छ।

शनिबार केन्द्रमा आयोजित विशेष कार्यक्रममा नगद ५० हजार रुपैयाँ र खाद्यान्न सामग्री केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई राइडर्सका अध्यक्ष प्रितम श्रेष्ठसहितको टोलीले हस्तान्तरण गरेको हो।

कार्यक्रममा राइडर्सका तर्फबाट बोल्दै सदस्य डा. शशांक कुमार सिंहले एक व्यक्तिको पहलमा चेपाङ संरक्षण केन्द्र स्थापना गरी उत्कृष्ट काम गरिरहेका भन्दै केन्द्रका अध्यक्ष केपी किरण शर्माको प्रशंसा गरे। उनले आगामी दिनमा पनि राइडर्सले आवश्यकता अनुसार सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रका अध्यक्ष शर्माले रोयल राइनो राइडर्सलाई सहयोगका लागि धन्यवाद दिँदै प्रशंसा पत्र प्रदान गरे। उनले आफूले सुरु गरेको सामाजिक अभियानमा सबैको सहयोगले सफलता प्राप्त भएको बताए। साथै, केन्द्रमा आश्रित विद्यार्थीहरू इन्जिनियर र स्वास्थ्यकर्मी भएर देशलाई सेवा दिइरहेको जानकारी दिए। हाल केन्द्रमा १५० जना चेपाङ विद्यार्थी आश्रित रहेको उनले बताए।

कार्यक्रममा राइडर्सका अध्यक्ष प्रितम श्रेष्ठले एक दशकभन्दा लामो समयदेखि क्लबले सामाजिक कार्य गर्दै आएको उल्लेख गरे। उनले विदेशमा रहेका क्लबका सदस्यहरू गोकर्ण महतो, विमल पुन, आकाश गुरुङ, साजन केसी, मन्जिल गुरुङ, रीम गुरुङ, होम थापा, विनोद वि.क., सुहेल मगर, शैलेश बा. थापा र यस कुमार विश्वकर्मालगायतले चेपाङ संरक्षण केन्द्रका लागि राइडर्स क्लबमार्फत सहयोग गरेको बताए।

कार्यक्रममा क्लबका सदस्यहरू डा. प्रतिमा घिमिरे सिंह, आशिष गुरुङ, गिरीश नहर्की, यस कुमार विश्वकर्मा, दिलीप बम्जन, दीक्षित पौडेल, सञ्जय लोप्चन, हेमन्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI