रत्ननगरमा कृषि अन्तर्क्रिया: गीर गाई जोगाएर अर्गानिक खेती बढाउन अपिल
रत्ननगर ।
पूर्वी चितवनको रत्ननगरमा बुधबार रत्ननगर महोत्सवको अवसरमा खेतीपाती तथा पशुपालनसम्बन्धी दुई छुट्टाछुट्टै विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएका छन्।
रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘खानाको लागि खेतीपाती, भविष्यको खेतीपातीका चुनौती र अवसर’ तथा ‘गीर गाई प्रवर्द्धन’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रका विज्ञहरूले अर्गानिक खेतीको प्रमाणीकरण, लगानीमा सरकारको उदासीनता र रासायनिक मल/विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति नष्ट हुँदै गएको बताएका छन्।
कार्यक्रममा भविष्यको खेतीपातीका अभियन्ता डा. कृष्णप्रसाद पौडेलले ‘खानाको लागि खेतीपाती, भविष्यको खेतीपातीका चुनौती र अवसर’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसैगरी, अनुभवी पशुपालक किसान लक्ष्मण घिमिरेले ‘नेपालमा गीर गाई पालनको सम्भावना र चुनौती’ विषयमा कार्यपत्र पेस गरेका थिए।
डा. पौडेलको कार्यपत्रमाथि टिप्पणी गर्दै बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले पैसा कमाउने नाममा रैथाने तथा अर्गानिक खेतीप्रति किसानको ध्यान नजाने गरेको बताए। व्यवसायिक खेतीको नाममा दैनिक हातमुख जोर्ने खाद्यान्न उत्पादनलाई बेवास्ता गर्दा भविष्यमा संकट निम्तिने उनको भनाइ थियो।
कृषि विज्ञ शारदा शर्मा पौडेलले अर्गानिक उत्पादनको प्रमाणीकरण र बजारीकरणमा समस्या रहेको उल्लेख गर्दै अर्गानिक उत्पादनलाई दैनिक जीवनयापनको माध्यम बनाउनुपर्नेमा जोड दिइन्। उनले अन्नबालीमा विषादीको प्रयोगले माटो जर्जर बनेको बताइन्।
खैरहनीका अनुभवी किसान लक्ष्मण घिमिरेले नेपालमा गीर गाईको संख्या झन्डै ५० को हाराहारीमा रहेको र चितवनमा मात्र ९ वटा रहेको जानकारी दिए। तराईको हावापानीमा गीर गाई सजिलै हुर्कन सक्ने भएकाले यसको पालनमा उच्च सम्भावना रहेको उनले बताए।
अर्का अनुभवी किसान हरि अधिकारीले खाद्यबालीमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति शून्यमा झरिसकेको बताउँदै माटो सुधारमा राज्य गम्भीर नदेखिएको गुनासो गरे।
रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रविण लामाले चितवनको तरकारी खेतीमा ६० प्रतिशतभन्दा बढी विषादी प्रयोग हुने गरेको उल्लेख गर्दै यसलाई न्यूनीकरण नगरे ठूलो संकट आउन सक्ने चेतावनी दिए।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले स्वागत मन्तव्य राख्दै रत्ननगर महोत्सवमा रैथाने बाली तथा पशुपालन विकासका लागि प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको बताए।
संघका पूर्वअध्यक्ष तथा गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले यसपटकको महोत्सवमा महको उत्पादन तथा बजारीकरण, रैथाने बाली संरक्षण र गीर गाई पालनलाई स्थापित गर्ने गरी कार्यक्रम राखिएको जानकारी दिए।
कार्यक्रममा पूर्वमन्त्री केशव लाल श्रेष्ठ, किसान हरिप्रसाद पौडेल, विजय आर्याललगायतले मन्तव्य राखेका थिए।
श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, रत्ननगरका संस्थापक मेयर नारायण वन, समाजसेवी बलराम खनाललगायतको उपस्थिति रहेको थियो।




लोकप्रिय खबर



प्रतिक्रिया दिनुहोस