रत्ननगर महोत्सवको छैटौं दिनसम्म एक लाख ५५ हजार अवलोकनकर्ता
रत्ननगर ।
पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी रत्ननगर महोत्सवको १३औं संस्करणको छैटौं दिन (बुधबार) सम्म एक लाख ५५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । पुस २५ गतेबाट सुरु भएको यो महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुने क्रममा अवलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष विनोद घिमिरेले टिकट विक्री अपेक्षित रहेको र अवलोकनकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको बताए । संघका अध्यक्ष शंकर गिरीले माघ १ गतेबाट अवलोकनकर्ताको भीड थप बढ्ने अनुमान गरेका छन् । “माघ १ गतेबाट अवलोकनकर्ताको संख्या थाम्नै नसक्ने गरी बढ्ने अपेक्षा गरेका छौं,” उनले भने, “त्यसका लागि सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।”
महोत्सवमा आएका दर्शकहरूले रामजानकी मन्दिर आकृतिको भव्य प्रवेशद्वार हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । प्रवेशपछि विभिन्न जनजातिका परम्परागत घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रमहरू दर्शकको रोजाइमा परेका छन् । यस पटक मह उत्सव, रोजगारी मेला र जलपरी मुख्य आकर्षणका रूपमा रहेका छन् ।
मह उत्पादन, गुणस्तर र बजारीकरण प्रवर्द्धनका लागि छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै चितवनको समग्र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य महोत्सवको रहेको अध्यक्ष गिरीले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औं संस्करणमा चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ ।
पर्यटन प्रवर्द्धनका लागि खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू छन् । कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई जोड दिइएको छ ।
यसैबीच, महोत्सवअन्तर्गत ‘खानाको लागि खेतीपाती, भविष्यको खेतीपातीका चुनौती र अवसर’ तथा ‘गीर गाई प्रवर्द्धन’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रका विज्ञहरूले अर्गानिक खेतीको प्रमाणीकरण र लगानीमा सरकार उदासीन रहेको बताएका थिए ।
कार्यक्रममा भविष्यको खेतीपातीका अभियन्ता डा. कृष्णप्रसाद पौडेलले ‘खानाको लागि खेतीपाती, भविष्यको खेतीपातीका चुनौती र अवसर’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अनुभवी पशुपालक किसान लक्ष्मण घिमिरेले नेपालमा गीर गाई पालनको सम्भावना र चुनौतीबारे कार्यपत्र राखेका थिए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले पैसा कमाउने नाममा रैथाने तथा अर्गानिक खेतीतर्फ किसानको ध्यान नजाने गरेको बताए । व्यवसायिक खेतीको नाममा दैनिक हातमुख जोर्ने खाद्यान्न उत्पादनप्रति बेवास्ता हुँदा भविष्यमा संकट निम्तिने उनको भनाइ थियो ।
कृषि विज्ञ शारदा शर्मा पौडेलले अर्गानिक उत्पादनको प्रमाणीकरण र बजारीकरणमा समस्या रहेको उल्लेख गर्दै विषादी प्रयोगले माटो जर्जर बनेको बताइन् । खैरहनीका अनुभवी किसान लक्ष्मण घिमिरेले नेपालमा गीर गाईको संख्या ५० को हाराहारीमा रहेको र चितवनमा ९ वटा मात्र रहेको जानकारी दिए । तराईमा गीर गाई पालनको सम्भावना उच्च रहेको उनले बताए ।
अर्का किसान हरि अधिकारीले रासायनिक मल प्रयोगले माटोको उर्वराशक्ति शून्यमा झरेको र राज्य सुधारमा गम्भीर नदेखिएको गुनासो गरे ।
रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले स्वागत मन्तव्य राख्दै रैथाने बाली र पशुपालन विकासका लागि प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको बताए । पूर्वअध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले मह उत्पादन, रैथाने बाली संरक्षण र गीर गाई पालनलाई स्थापित गर्ने गरी कार्यक्रम राखिएको जानकारी दिए ।
रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रवीण लामाले चितवनको तरकारी खेतीमा ६० प्रतिशतभन्दा बढी विषादी प्रयोग हुने गरेको र न्यूनीकरण नगरे संकट निम्तिने चेतावनी दिए ।
कार्यक्रममा पूर्वमन्त्री केशबलाल श्रेष्ठ, किसान हरिप्रसाद पौडेल, विजय अर्याललगायतले मन्तव्य राखेका थिए । गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, रत्ननगरका संस्थापक मेयर नारायण वन, समाजसेवी बलराम खनाललगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस