रत्ननगर महोत्सवमा उर्लियो भीड : आज ४५ हजारले गरे अवलोकन

लोकप्रिय खबर
१ माघ २०८२, बिहिवार

रत्ननगर, माघ १ ।
पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा जारी १३औं रत्ननगर महोत्सवमा अवलोकनकर्ताको उल्लेखनीय उपस्थिति देखिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि सुरु भएको यो महोत्सवको बिहीबार मात्र ४५ हजारभन्दा बढीले अवलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिएका छन् ।

महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब २ लाख दर्शकले अवलोकन गरिसकेको उनले बताए । संघका कोषाध्यक्ष विनोद घिमिरेका अनुसार माघे संक्रान्तिको अवसरमा बिहीबार विशेष भीड लागेको हो । आगामी दिनमा अवलोकनकर्ताको संख्या थप बढ्ने उनको दाबी छ ।

अवलोकनकर्ताहरूले रामजानकी मन्दिर आकृतिको भव्य प्रवेशद्वार हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव परिसरमा विभिन्न जनजातिका घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रमहरू विशेष आकर्षण बनेका छन् । यसपटक मह उत्सव, रोजगारी मेला र जलपरी अवलोकन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

मह उत्पादन, गुणस्तर र बजारीकरण प्रवर्द्धन गर्न छुट्टै मह परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई जोड दिँदै चितवनको समग्र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।

विगत दुई दशकदेखि हरेक दुई वर्षमा सञ्चालन हुँदै आएको यस महोत्सवको १३औं संस्करणमा चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू राखिएका छन् ।

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणमा जोड दिइएको छ । महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, महोत्सवअन्तर्गत रत्ननगर वडा नं. १ सौराहाचोकमा ‘चिकेन एन्ड एग फुड फेस्टिबल’ पनि जारी छ । कुखुराको मासु तथा अण्डा र स्थानीय विभिन्न जातजातिका परिकार प्रवर्द्धनका लागि आयोजना गरिएको यो फेस्टिबल माघ ३ गतेसम्म चल्नेछ । साँझ ५ बजेदेखि सुरु हुने फेस्टिबलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन् । पूर्वअध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार फेस्टिबलले स्थानीय खानाको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI