चितवन क्षेत्र १ : २५ वर्षे ठिटोदेखि ६६ वर्षे ज्येष्ठ उम्मेदवारसम्म मैदानमा

लोकप्रिय खबर
८ माघ २०८२, बिहिवार

रत्ननगर, माघ ८ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरूको उमेर र अनुभवको विविधताले चर्चा पाएको छ। यस क्षेत्रमा मनोनयन दर्ता गराएका कुल १९ जना उम्मेदवारमध्ये २५ वर्षका कान्छा युवादेखि ६६ वर्षका ज्येष्ठ व्यक्तित्वसम्म चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

राप्ती नगरपालिका–९ का २५ वर्षीय विकास कामी यस निर्वाचन क्षेत्रकै सबैभन्दा कान्छा उम्मेदवारका रूपमा देखिएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट ‘आँखा’ चुनाव चिन्ह लिएर मैदानमा होमिएका कामीले युवा नेतृत्वको मुद्दालाई अगाडि सारेका छन्। अर्कोतर्फ, अनुभव र उमेरका हिसाबले नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी र नेकपा एमालेका दावा दोर्जे लामा यस क्षेत्रका सबैभन्दा ज्येष्ठ उम्मेदवार बनेका छन्।

६६ वर्ष पुगेका बुर्लाकोटी राप्ती–८ का बासिन्दा हुन् भने सोही उमेरका लामा राप्ती–५ का स्थायी बासिन्दा हुन्। बुर्लाकोटी कांग्रेसको ‘रुख’ र लामा एमालेको ‘सूर्य’ चिन्ह लिएर चुनावी प्रतिष्पर्धामा छन्। मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा र राप्रपाबीच प्रतिष्पर्धा हुने देखिएको यस क्षेत्रमा रास्वपाले हरि ढकाल, नेकपाले कृष्णराज पन्त र राप्रपाले बलराम खनाललाई चुनावी मैदानमा उतारेको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI