कालिकामा विपन्नका लागि आवास निर्माण सुरु,अमर कुमाललाई घर हस्तान्तरण

लोकप्रिय खबर
६ चैत २०८२, शुक्रवार

चैत ६ गते । कालिका नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण सुरु भएको छ । नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समुहको सहकार्यमा विपन्न परिवारका लागि आवास निर्माण सुरु भएको हो । यस आर्थिक बर्षमा ३० वटा घर निर्माण गर्ने योजना अनुसार शुक्रबार एउटा घर हस्तान्तरण समेत गरिएको छ । कालिका ६ गुरौचौरका अमर कुमालका लागि आवास निर्माण गरि हस्तान्तरण गरिएको हो । कालिका नगरपालिका प्रमुख विनोद रेग्मिले रिवन काटेर घरको उद्घाटन गरे भने सांचो अमर कुमाललाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै प्रमुख रेग्मिले विपन्न परिवारका लागि शिक्षा ,स्वास्थ्य ,आवासको ब्यबस्था गर्नु नगरपालिकाको दायित्व रहेको भन्दै सोही अनुसार वडा,नगरपालिकाले काम गरिरहेको बताए । विपन्न समुदायमा शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समृद्ध कालिका निर्माणको नारालाई साकार पार्ने पनि उनको भनाइ थियो ।
सो अवसरमा लुमन्तिका कार्यक्षेत्र संयोजक सिंहबहादुर वाइवाले घर निर्माणको आमदानी ,खर्चको विवरण सार्वजनिक गरेका थिए । संयोजक लामाले नगरपालिका भित्रका विभिन्न समुदायको नेतृत्व बिकास देखि जलबायु परिवर्तन ,संरचना निर्माणमा नगरपालिका ,वडा र सम्बन्धित समुदायसंग मिलेर काम गरिरहेको बताए ।
नगरपालिकासंग भएको सम्झौता अनुसार आगामी आइतबार ५ वटा घरको निर्माण सुरु गरिन लागेको संयोजक वाइवाले जानकारी दिए ।
अमर कुमालको घर हस्तान्तरणमा नगर उपप्रमुख विमला तामाङ,कालिका ६ का वडा अध्यक्ष टिकाराम रेग्मी,कालिका २ का वडा अध्यक्ष लक्ष्मण पौडेल ,नगरपालिकाका शाखा प्रमुख प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो । सिमलघारी टोल बिकास संस्थाका अध्यक्ष यदु प्रसाद खतिवडाको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा जनचेतना महिला समुहकी अध्यक्ष चमेली कुमालले स्वागत मन्तव्य राखेकी थिइन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI