सिद्धि छात्रावासका सीमान्तकृत चेपाङ बालबालिकालाई साप नेपाल र डेक नेपालद्वारा शैक्षिक तथा खाद्यान्न सहयोग

लोकप्रिय खबर
७ चैत २०८२, शनिबार

कालिका, ७ चैत्र २०८२ ।
कालिका नगरपालिका वडा नं. १० स्थित सिद्धि छात्रावासमा आश्रित सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । साउथ एशिया पार्टनरशिप नेपाल (साप नेपाल) र डेक नेपालको संयुक्त पहलमा विपन्न चेपाङ विद्यार्थीहरूको पठनपाठन र दैनिकीमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

साप नेपालले छात्रावासमा व्यवस्थित पुस्तकालय (लाइब्रेरी) सञ्चालनका लागि २ थान स्टिल दराज र करिब ३०० थान विभिन्न पुस्तकहरू प्रदान गरेको छ । यसका साथै बालबालिकाका लागि आवश्यक पर्ने अन्य शैक्षिक सामग्री र खाद्यान्न समेत उपलब्ध गराइएको छ । विद्यार्थीहरूको मानसिक विकासका साथै शारीरिक विकास र अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्न बल तथा ब्याडमिन्टन लगायतका खेलकुद सामग्रीहरू पनि निःशुल्क वितरण गरिएको संस्थाले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा साप नेपालकी अध्यक्ष गीता भट्टराई, कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी तथा प्रादेशिक निर्देशक जनक कार्कीले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उनीहरूले सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन संस्था सधैं प्रतिबद्ध रहेको कुरामा जोड दिएका थिए ।

कार्यक्रममा सहयोग ग्रहण गर्दै सिद्धि छात्रावास, कालिका–१० का अध्यक्ष भरत चेपाङले सहयोगी संस्थाहरू साप नेपाल र डेक नेपालप्रति हार्दिक आभार व्यक्त गरे । उनले यस्ता किसिमका सहयोगले विपन्न चेपाङ बालबालिकाको शैक्षिक प्रगतिका साथै उनीहरूको समग्र व्यक्तित्व विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित सहभागीहरूले सीमान्तकृत तथा पिछडिएका समुदायका बालबालिकाको शिक्षा र जीवनस्तर उकास्न यस प्रकारका सहयोग र कार्यक्रमहरू अत्यन्तै महत्त्वपूर्ण हुने धारणा राखेका थिए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI