रत्ननगर-३ द्वारा ६ जना स्रष्टा जनही १० हजार नगदसहित सम्मानित, भव्य रूपमा सम्पन्न भयो रचना वाचन
रत्ननगर, चितवन:
चितवनको रत्ननगर नगरपालिका वडा नं. ३ को कार्यालयले शनिबार (२०८३ जेठ २ गते) एक भव्य ‘स्रष्टा सम्मान एवम् रचना वाचन कार्यक्रम’ सम्पन्न गरेको छ। साहित्य र सिर्जनाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई प्रोत्साहन तथा कदर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम वडा नं. ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेलको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न ६ जना स्रष्टाहरूलाई नगद तथा कदरपत्रसहित सम्मान गरिएको छ। सम्मानित हुने स्रष्टाहरूमा मोदनाथ मरहठ्ठा, गीता लामिछाने, लक्ष्मण अर्याल, राजेन्द्र प्रसाद घायल, कमल अर्याल र अशोक भुसाल रहनुभएको छ। वडा कार्यालयले उहाँहरू प्रत्येकलाई जनही दश हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरी उच्च सम्मान गरेको हो।
कार्यक्रममा रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशिष्ट अतिथिको रूपमा साहित्यकारहरू धनराज गिरी, केशवराज आमोदी, तिलकराज शर्मा र गोकर्ण मल्लको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा सदस्य शिव खनालले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा र दर्शकहरूलाई स्वागत गर्नुभएको थियो।
समारोहमा रत्ननगर वडा नं. ३ का वडा सदस्यहरू ईश्वर जमर्कट्टेल, बैसखनी थरुनी, देवी सुनार र वडा सचिव प्रदीप खरेल अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यसका साथै, उद्यमशील महिला सञ्जाल रत्ननगरकी अध्यक्ष गीता शिंखडा, नारी जागरण केन्द्रकी अध्यक्ष बिमला सुवेदी खनाल लगायत वडाभित्रका सम्पूर्ण टोल विकास संस्थाका अध्यक्षहरूको पनि गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो चरणमा आयोजित रचना वाचन सत्रले माहोललाई थप साहित्यिक र रोमाञ्चक बनाएको थियो। रचना वाचन अन्तर्गत गोविन्द खुलाकी, करुणा उदासी, चेतराज रेग्मी, राजेन्द्र कुमार कोइराला, सन्ध्या मरहठ्ठा, विष्णु प्रसाद शर्मा, समिता मरहठ्ठा, रामकृष्ण ढकाल, डि.एन. अर्याल, दुर्गा घिमिरे, बिष्णु पौडेल लगायतका स्रष्टाहरूले आ-आफ्ना उत्कृष्ट सिर्जनाहरू वाचन गरेर दर्शक तथा स्रोताको मन जितेका थिए।
साहित्य र कलाको प्रवर्द्धनमा स्थानीय सरकारको यो कदमले सकारात्मक सन्देश प्रवाह गरेको छ। उक्त सम्मान तथा रचना वाचन कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य तथा साहित्यकार राजेन्द्र हमालले कुशल रूपमा गर्नुभएको थियो।





लोकप्रिय खबर



प्रतिक्रिया दिनुहोस