रत्ननगरमा एकल महिलालाई मनोसामाजिक स्वास्थ्य सम्बन्धी तालिम
रत्ननगर, जेठ ११ ।
रत्ननगर नगरपालिकाले एकल महिलाहरूलाई मनोसामाजिक स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सोमबार भएको तालिममा वडा नम्बर १ देखि ८ सम्मका ९० जना भन्दा बढी एकल महिलाहरूको सहभागिता रहेको शाखा प्रमुख दीपा घिमिरेले जानकारी दिइन् । उनले मंगलबार वडा नम्बर ९ देखि १६ सम्मका एकल महिलाहरूलाई सोही तालिम दिइने बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठकले एकल महिलाहरूको सम्मानजनक जीवन र क्षमता विकासका लागि रत्ननगर नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । पाठकले भने, ‘एकल महिलाहरू समाजको महत्वपूर्ण अंग हुन् । उनीहरूको मनोसामाजिक स्वास्थ्य राम्रो भएमा मात्र परिवार र समाज पनि स्वस्थ रहन्छ ।’
तालिममा मनोविद् कपिल शर्माले सहजीकरण गरेका थिए । उनले एकल महिलाहरूलाई तनाव व्यवस्थापन, आत्मसम्मान बढाउने तरिका, भावनात्मक सन्तुलन कायम गर्ने विधि र सामाजिक समर्थनको महत्वबारे प्रशिक्षण दिए ।
कार्यक्रममा कार्यपालिका सदस्य बबिता चौधरी, यशोदा अधिकारी पौडेल, वडा सदस्य सीता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस