बृहत् निःशुल्क आँखा शिविर

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

लोकप्रिय खबर
१६ जेठ २०८३, शनिबार

रत्ननगर, चितवन – ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। रत्ननगर-१, बकुलहरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमा सञ्चालित सो शिविरबाट ४६७ जना नगरवासीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा आँखाको पावर जाँच, उपचार, औषधि वितरण तथा मोतियाबिन्दुको पहिचान गर्ने कार्य गरिएको थियो। कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका सह-संयोजक बासुदेव सापकोटाले दृष्टिबिनाको जीवन अधुरो हुने बताउँदै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिए। उनले रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा देशभरिकै उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै विपन्न नागरिकको उपचारका लागि नगरपालिकाले विभिन्न अस्पतालसँग समन्वय गरी उपचार कोष खडा गरेको बताए।

शिविरमा वरिष्ठ नेत्र सहायक सुवास सापकोटाले सेवा प्रवाहका विविध पक्षबारे प्रस्ट पार्दै आवश्यक पर्ने बिरामीलाई निःशुल्क चश्मा र मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने जानकारी गराए। शिविरमा परीक्षण गरिएकामध्ये २२ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ, जसमध्ये १९ जनालाई थप उपचार र शल्यक्रियाका लागि आजै भरतपुर आँखा अस्पताल लगिएको छ। शल्यक्रिया, आवश्यक औषधि र चश्मा पूर्णतः निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ। साथै, शिविरमा आँखा रातो हुने, चिलाउने, आँशु बगिरहने तथा मासु पलाउने जस्ता समस्या भएका बिरामीहरूलाई परामर्शसहित निःशुल्क औषधि वितरण गरिएको थियो।

कार्यक्रमका सभाध्यक्ष तथा रत्ननगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष र नगर प्रवक्ता कुलप्रसाद सापकोटाले शिविरमा देखिएको जनसहभागिताले आफूलाई थप उत्साहित बनाएको बताए। उनले आँखाको समस्याले धेरै नागरिक पीडित रहेको महसुस गर्दै अबदेखि प्रत्येक तीन-तीन महिनामा यस प्रकारको शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए। अध्यक्ष सापकोटाले नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिरहेको लगानीबारे चर्चा गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको निःशुल्क शिक्षा, एम्बुलेन्स सेवा र विभिन्न अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि खडा गरिएको उपचार कोषबाट नागरिकले लाभ लिइरहेको जानकारी दिए।

शिविरको उद्घाटन समारोहमा वडा सदस्य उमादेवी पौडेल, वडा सचिव महेश सुवेदी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण गिरि, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो। शिविरमा नजिकको दृष्टिका लागि १०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई भरतपुर आँखा अस्पताल रेफर गरिएको छ। वडा कार्यालयको यो पहलले आर्थिक अभावका कारण उपचारबाट वञ्चित रहेका स्थानीयमा ठूलो राहत पुगेको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI