रत्ननगरमा ७५ दिने लोकसेवा तयारी कक्षाको समापन

लोकप्रिय खबर
१९ जेठ २०८३, मंगलबार

रत्ननगर, १९ जेठ ।
रत्ननगर नगरपालिकाको आयोजना तथा लोकसेवा सारथी प्रा.लि.को सहजीकरणमा सञ्चालित ७५ दिने लोकसेवा तयारी कक्षा समापन गरिएको छ । २०८२ चैत ५ गतेदेखि सुरु भएको उक्त कक्षाको मंगलबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

नगरपालिकाका १६ वटै वडाका ८९ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त तयारी कक्षा लोकसेवा आयोगको परीक्षामा सफलता हासिल गर्न चाहनेहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो । कक्षामा अनुभवी प्रशिक्षकहरूबाट नियमित रूपमा अध्यापन गराइएको लोकसेवा सारथीका प्रमुख महेश घिमिरेले जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै भने, ‘७५ दिनको यो यात्रा तपाईंहरूको लागि मात्र होइन, यो तपाईंहरूको सपना पूरा गर्ने एउटा मजबुत आधार हो । कक्षामा सिकेका कुराहरूलाई मेहनत र निरन्तरतासँगै घरमा पनि अभ्यास गर्नुहोस् । सफलता अवश्य प्राप्त गर्नुहुनेछ ।’

यस्तै,लोकसेवा सारथीका प्रमुख महेश घिमिरेले सहभागीहरूलाई शुभकामना दिँदै भने, ‘धेरैलाई लाग्छ, लोकसेवा पढ्ने बित्तिकै जागिर पाइहालिन्छ । तर यो गलत धारणा हो । निरन्तर मेहनत, नियमित अभ्यास र सही रणनीतिले मात्र लोकसेवा परीक्षामा सफलता हासिल गर्न सकिन्छ ।’

समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट खुसी आचार्य र महेश लामिछानेले आफ्नो अनुभव साटेका थिए । कार्यक्रममा लेखा प्रमुख प्रदिप पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रमा पौडेलले गरेकी थिइन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI