‘सिआइडी’ बनेर अपहरण र सामूहिक बलात्कार गर्ने फरार अभियुक्त ८ वर्षपछि पक्राउ, पुर्पक्षका लागि कारागार चलान

लोकप्रिय खबर
२७ जेठ २०८३, बुधबार

चितवन, २७ जेठ:
आफूलाई प्रहरीको ‘सिआइडी’ (CID) बताउँदै मध्यरातमा घरबाटै अपहरण गरी महिलामाथि सामूहिक बलात्कार गर्ने घटनाका एक मुख्य फरार प्रतिवादी ८ वर्षपछि प्रहरीको फन्दामा परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले अपहरण तथा सामूहिक जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि फरार रहेका चितवनको कालिका नगरपालिका वडा नं. ७ बस्ने ‘सुमन दोङ’ भन्ने सुमन तामाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार लुकिछिपी बस्दै आएका तामाङलाई इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा यही जेठ २२ गते पक्राउ गरेको थियो।

पक्राउ परेका तामाङलाई सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएकोमा जेठ २६ गतेको आदेशले उनलाई पुर्पक्षको लागि कारागार कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ।

यस्तो थियो घटनाको फिल्मी शैली:
प्रहरी विज्ञप्तिका अनुसार यो घटना २०७५ साल असार ७ गते राती (बिहान) अन्दाजी २:०० बजेको हो। मोटरसाइकलमा आएका दुई जना पुरुष पीडित महिलाको घरमा प्रवेश गरेका थिए।

उनीहरूले आफूहरू “टाँडी प्रहरीबाट आएको सिआइडी हौं, केही जरुरी कुरा बुझ्नु छ, हामीसँग तुरुन्त जानुपर्छ” भन्दै महिलालाई तर्साएका थिए। त्यसपछि ती महिला र उनको नाबालक छोरालाई समेत बलपूर्वक मोटरसाइकलमा चढाएर प्रहरी कार्यालय लैजाने बहानामा सिधै जंगलतर्फ लगेका थिए। जंगलमा डरत्रास देखाई दुवै जनाले महिलामाथि सामूहिक बलात्कार गरेर फरार भएका थिए।

सह-अभियुक्तले काट्दैछन् १९ वर्षको जेल सजाय:
यस जघन्य अपराधमा संलग्न अर्का प्रतिवादी कालिका नगरपालिका वडा नं. ३ बस्ने प्रितम थिङ भने यसअघि नै पक्राउ परिसकेका छन्। प्रहरी अनुसन्धानपछि अदालतमा मुद्दा पेश हुँदा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १९ वर्ष कैद र रु. ५० हजार जरिवानाको फैसला सुनाएको थियो। उनी हाल सोही फैसला बमोजिम कारागारमा सजाय भुक्तान गरिरहेका छन्।

मुख्य योजनाकारमध्येका एक तामाङ पक्राउ परेसँगै ८ वर्ष पुरानो यस जघन्य अपराधको फाइल पूर्ण रुपमा किनारा लाग्ने दिशामा गएको प्रहरीको भनाइ छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI