रत्ननगरमा शिक्षक नायकहरूका लागि तीन दिवसीय आधारभूत प्राथमिक उपचार तालिम सुरु
रत्ननगर, जेठ २९ । जुनसुकै विपद् वा आकस्मिक दुर्घटनाको समयमा घाइतेको ज्यान बचाउन, अवस्था थप बिग्रन नदिन र उचित स्वास्थ्य उपचारमा पुग्नुअघिको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ चितवनको रत्ननगरमा तीन दिवसीय आधारभूत प्राथमिक उपचार तालिम सुरु भएको छ। नेपाल रेडक्रस सोसाइटी पालिका शाखा रत्ननगरको आयोजना तथा रत्ननगर नगरपालिकाको सहकार्यमा जेठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त तालिमको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको सभाहलमा सञ्चालित यस तालिममा रत्ननगर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका २९ जना शिक्षक नायकहरूको सहभागिता रहेको छ। विद्यालयमा विद्यार्थीहरू खेल्दा लड्ने, चोटपटक लाग्ने वा अचानक बिरामी पर्नेजस्ता समस्या आउँदा तत्काल प्राथमिक उपचार प्रदान गरी अस्पतालसम्म पुर्याउन र उनीहरूको ज्यान बचाउन यो तालिम आयोजना गरिएको हो।
उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद पौडेलले रेडक्रसको अन्तर्राष्ट्रिय महत्त्व र यसले खेलेको मानवीय भूमिकाबारे प्रकाश पार्नुभयो। उहाँले जेनेभा महासन्धिमा हस्ताक्षर भएपश्चात् नेपालमा २०२० साल भदौ १९ गते रेडक्रस स्थापना भएको स्मरण गर्दै विपद्, १० वर्षे सशस्त्र द्वन्द्व र भूकम्पजस्ता सङ्कटमा यसले अग्रपङ्क्तिमा रहेर काम गरेको बताउनुभयो। स्थानीय सरकारकै सहयोगमा रत्ननगरमा ब्लड बैंक सञ्चालन गरी रगत व्यवस्थापन भइरहेको उहाँले जानकारी दिनुभयो।
मन्तव्यकै क्रममा प्रमुख अतिथि पौडेलले २०६२ सालको माडी बाँदरमुढे घटनाको उदाहरण दिँदै प्राथमिक उपचारको महत्त्व प्रस्ट पार्नुभयो। सो घटनामा रेडक्रसद्वारा सञ्चालित परियोजनाबाट तालिम प्राप्त शिक्षक नायक र विद्यार्थीहरूले घटनास्थलमै ओछ्यानका खोल र कपडा च्यातेर सही तरिकाले प्राथमिक उपचार गरी ७५ जना घाइतेलाई अस्पताल पठाएको र त्यसरी पठाइएका कसैको पनि मृत्यु नभएको ऐतिहासिक तथ्य उहाँले प्रस्तुत गर्नुभयो। विद्यालयमा प्राथमिक उपचारको ज्ञान अत्यन्तै आवश्यक रहेको बताउँदै उहाँले सिकेको सीपले व्यक्ति, परिवार, विद्यालय र पूर्व-पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेहरूको उद्धारमा समेत ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी पालिका शाखा रत्ननगरका सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पालिका शाखा सदस्य विदुर सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा रत्ननगर वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर पूर्वाधार समिति संयोजक अनन्त अधिकारी र रत्ननगर वडा नं १ का वडा अध्यक्ष तथा नगरप्रवक्ता कुलप्रसाद सापकोटा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, रत्ननगर उपशाखाका कार्यवाहक सभापति अनु गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा रेडक्रसका सात सिद्धान्त पालिका शाखा सदस्य सरस्वती चालिसेले वाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पालिका शाखा सचिव दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो। उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सहकोषाध्यक्ष तथा प्रशिक्षक चिजकुमार आले, रत्ननगर उपशाखाका पूर्व सचिव एवं प्रशिक्षक निता ढकाल, सचिब युवराज आचार्य, कोषाध्यक्ष चन्द्रकान्त ओझा, पञ्चकन्या उपशाखाका सभापति अर्जुन पौडेल र पालिका शाखा सदस्य रामहरी भण्डारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमका सभापति रामचन्द्र पौडेलले सहयोगी निकाय रत्ननगर नगरपालिकालाई धन्यवाद दिँदै तालिमको सफलताको कामनासहित उद्घाटन सत्रको समापन गर्नुभएको थियो।




लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस