रत्ननगरमा शिक्षक नायक लक्षित तीन दिवसीय प्राथमिक उपचार तालिम सम्पन्न : विद्यालयमा सीप प्रयोग गर्न जोड

लोकप्रिय खबर
३१ जेठ २०८३, आइतबार

रत्ननगर, जेठ ३१ आइतबार ।
नेपाल रेडक्रस सोसाइटी पालिका शाखा रत्ननगरको आयोजना तथा रत्ननगर नगरपालिकाको सहकार्यमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायक लक्षित तीन दिवसीय आधारभूत प्राथमिक उपचार तालिम आइतबार सम्पन्न भएको छ। जेठ २९ गतेदेखि रेडक्रसको रत्ननगर उपशाखा सभाहलमा सुरु भएको उक्त तालिमको अन्तिम दिन सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेको सीपलाई विद्यालय र समुदाय स्तरमा व्यवहारिक रूपमा उतार्न जोड दिइएको छ।

समापन समारोहमा तालिमको अनुभव तथा प्रतिवेदन प्रस्तुत गर्दै सहभागी शिक्षक नायकहरू सिर्जना लम्साल, भिम बहादुर खड्का र दुर्गा दुलालले तालिम अत्यन्तै उपलब्धिमूलक र व्यवहारिक रहेको बताउनुभयो। विगतका तालिमहरू सैद्धान्तिक मात्र हुने गरेकोमा यसपटक प्रयोगात्मक अभ्यास र परीक्षासमेत समावेश गरिँदा सिकाइ प्रभावकारी भएको उहाँहरूको भनाइ थियो। सहभागीहरूले तालिममा सीपीआर गर्ने तरिका, रक्तस्राव नियन्त्रण, चोटपटक, हाडजोर्नी भाँचिदा, लेक लाग्दा वा ज्वरो आउँदा गरिने प्राथमिक उपचारका आधुनिक विधिहरू सिकेको जानकारी गराउँदै आगामी दिनमा प्राथमिक उपचारको पुस्तक, विद्यालयमा किट बक्स र प्रत्येक वर्ष पुनरताजगी तालिमको व्यवस्था मिलाइदिन आयोजकसमक्ष अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मन्तव्य राख्दै रत्ननगर वडा नं १ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुल प्रसाद सापकोटाले तालिमको प्रभावकारितालाई मध्यनजर गर्दै रत्ननगर नगरपालिकाले आगामी दिनमा वर्षको कम्तीमा दुई पटक यस्ता तालिम सञ्चालन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरि प्रसाद पौडेलले शिक्षकहरू रेडक्रसका महत्वपूर्ण खम्बा रहेको बताउँदै सिकेको सीपलाई विद्यालय र समुदायमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले सहभागीहरूले माग गरेको प्राथमिक उपचारको पुस्तक केन्द्रबाट प्राप्त हुनासाथ उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाउनुभयो।

जिल्ला शाखाका कार्यवाहक मन्त्री तथा राष्ट्रिय प्रशिक्षक महेश्वर थपलियाले शिक्षकले सिकेको सीप विद्यार्थी र समाजका लागि जीवनदायिनी हुने बताउँदै रेडक्रस सधैं सहयोगका लागि तत्पर रहेको प्रस्ट पार्नुभयो। यस्तै, बछौली उपशाखाका सभापति सुवास बिडारी र प्याब्सन चितवनका सह-सचिव पशुपति शर्मा उपाध्यायले तालिममा सिकेको मानव जीवन रक्षाको सिपलाई आफ्ना विद्यार्थीहरूसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो।

नेपाल रेडक्रस सोसाइटी पालिका शाखा रत्ननगरका सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न समापन समारोहमा उहाँले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभएको थियो। विद्यालयको पठनपाठन प्रभावित नहोस् भनेर सार्वजनिक बिदाको दिन पारेर तालिम सञ्चालन गरिएको प्रस्ट पार्दै सभापति पौडेलले आगामी बजेटमार्फत विद्यालयहरूमा ‘फर्स्ट एड बक्स’ व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो।

पालिका शाखा सचिव दिपेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त तालिममा राष्ट्रिय प्रशिक्षकहरू चिज कुमार आले, रुद्र अधिकारी, शारदा शर्मा पौडेल र निता ढकालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा रत्ननगर उपशाखाका कार्यवाहक सभापति अनु गौतम, सचिव युवराज आचार्य, कोषाध्यक्ष चन्द्रकान्त ओझा लगायत पालिका शाखाका सदस्यहरू रामहरी भण्डारी, सरस्वती चालिसे र विदुर सुवेदीको उपस्थिति रहेको थियो। तीन दिनसम्म सञ्चालित यस तालिमले रत्ननगरका विद्यालयहरूमा भइपरी आउने स्वास्थ्य समस्या र दुर्घटनाहरूमा तत्काल उद्धार तथा उपचार गर्न शिक्षकहरूलाई सक्षम बनाएको विश्वास लिइएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI