‘जेनजी’ आन्दोलनमा ध्वस्त रत्ननगर–१४ को वडा कार्यालय भवन पुनर्निर्माण सम्पन्न, मेयर सापकोटाद्वारा उद्घाटन

लोकप्रिय खबर
४ असार २०८३, बिहिवार

रत्ननगर, चितवन ।
गत भदौ महिनामा भएको ‘जेनजी’ आन्दोलनका क्रममा पूर्णरुपमा ध्वस्त भएको चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन पुनर्निर्माण सम्पन्न भएको छ। ५२ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको उक्त नयाँ भवनको बिहीबार (असार ४ गते) एक औपचारिक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख (मेयर) प्रलाद सापकोटाले उद्घाटन गर्नुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको साथी र पहिलो गुनासो सुन्ने थलो भएको बताउनुभयो। गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नगरपालिकाको मुख्य भवन र १६ वटै वडामा गरी करिब २३ करोड रुपैयाँ बराबरको क्षति भए पनि जनताको सेवालाई नरोक्न चालु बजेट रकमान्तर गरेर भवनहरुको पुनर्निर्माण गरिएको उहाँले जानकारी दिनुभयो।

वडालाई प्रविधिसँग जोड्न चोक–चोकमा सिसिटिभी क्यामेरा जडान गरिएको बताउँदै मेयर सापकोटाले भन्नुभयो, “रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरिब तथा विपन्नलाई सरकारी अस्पतालमा २५ हजारसम्मको छुट दिने र शिक्षामा कक्षा १२ सम्म पूर्ण निःशुल्क गर्ने जस्ता दूरगामी महत्वका कार्यहरु गरिरहेको छ। सार्वजनिक सम्पत्ति हाम्रै हो, यसको संरक्षणमा सम्पूर्ण नगरबासी एकजुट हुनुपर्छ।”

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मन्तव्य राख्दै नगर उपप्रमुख यादवप्रसाद पाठकले नगरपालिकाको चालु खर्च कटौती गरी ६ करोड २८ लाख रुपैयाँको ‘पुनर्निर्माण कोष’ स्थापना गरेर ध्वस्त संरचनाहरु ठड्याइएको बताउनुभयो। सार्वजनिक सम्पत्तिको नोक्सान हुनु भनेको ९० हजार रत्ननगरबासीकै नोक्सान भएको भन्दै उहाँले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन समाजका सबै अगुवा र नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो।

अर्का विशिष्ट अतिथि एवं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले ‘बिल्ड ब्याक बेटर’ (हिजोको भन्दा आज अझ राम्रो बनाउने) नीति अनुरुप नयाँ भवन निर्माण गरिएको बताउनुभयो। अहिलेको नयाँ संरचना पूर्णरुपमा बालमैत्री, अपांगमैत्री, नागरिकमैत्री र प्रविधिमैत्री बनेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रमको सभाध्यक्षता ग्रहण गर्नुभएका वडा नम्बर १४ का वडाध्यक्ष होमनाथ रानाभाटले कार्यालय ध्वस्त भएपछिका सुरुवाती कठिन दिनहरुको स्मरण गर्नुभयो। सबै संरचना र सामग्री जलेर नष्ट हुँदा पिठुवा खानेपानी, पिठुवा सिँचाइ र स्थानीय गरिबी निवारण सहकारी संस्थाले कुर्सी, टेबल र कम्प्युटर सहयोग गरेको भन्दै उहाँले ‘शरणार्थी’ जस्तै अवस्थामा पनि जनताको सेवा नरोकिएको यथार्थ सुनाउनुभयो। पुनर्निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नगर प्रमुखलगायत सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो।

वडा सचिव बासुदेव रिजालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सानु भण्डारी बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, वडा नं १५ का वडाध्यक्ष आसिक तामाङ, वडा सदस्य रमेश थापा मगर, लेखा अधिकृत प्रदीप पौडेललगायतको उपस्थिति रहेको थियो। साथै, महिला स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र राजनीतिक दलका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI