बकुलहर रत्ननगर अस्पतालमा सामाजिक परीक्षण: गुणस्तरीय सेवा र उपकरण थप्न नागरिकको माग
रत्ननगर, असार १८ ।
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा र यसको प्रभावकारिताका विषयमा बिहीबार सामाजिक परीक्षण कार्यक्रम गरिएको छ। अस्पतालले प्रवाह गर्ने सेवाप्रति नागरिकको अपेक्षा र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूका बारेमा आम नागरिकको अभिमत संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले अस्पतालले दिनप्रतिदिन सेवा विस्तार गर्दै लगेकोमा प्रशंसा गरे। यद्यपि, बिरामीको संख्या बढेसँगै व्यवस्थापनमा चुनौती थपिँदै गएकाले बेलैमा ध्यान दिन उनीहरूले आग्रह गरे। उपचारका लागि आवश्यक पर्ने सिटी स्क्यान, एमआरआई, बायोप्सी परीक्षण लगायतका आधुनिक उपकरण थप गरी अन्य अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सहभागीहरूले माग गरे। यसका साथै अस्पतालमा सरसफाइ तथा पार्किङ व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सुझाव दिइएको छ।
कार्यक्रममा उद्यमशील महिला सञ्जाल रत्ननगरकी अध्यक्ष गीता सिंखडा, सामाजिक अभियन्ता दीपक थापा, सावित्री सुवेदी, सुरेश चौधरी, बेदप्रसाद भट्टराई र शम्भुभक्त थपलिया लगायतले अस्पतालको सेवा प्रवाहका विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए। सहभागीहरूका प्रश्न र जिज्ञासाको जवाफ दिँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले अस्पतालको सेवा वृद्धि तथा उपकरण थप्ने योजनाबारे जानकारी दिए। उनले प्रयोगशालामा बायोप्सी परीक्षण सेवा छिट्टै सुरु हुन लागेको बताए। जनस्तरबाट सञ्चालित यस अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन अस्पताल विकास समिति र प्रशासन र अस्पताल संग सम्बन्धित सरोकारवाला संग समन्वय गर्दै अघि बढिरहेको उनको भनाइ थियो । डा. पौडेलले नागरिकस्तरबाट आएका गुनासो तथा सुझावका आधारमा कमीकमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले अस्पतालले माग गरेबमोजिम नीति-नियमभित्र रहेर नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रका स्वास्थ्य संस्थाको तुलनामा सरकारी अस्पतालले प्रदान गर्ने सेवा-सुविधा राम्रो र भरपर्दो हुने गरेको आफ्नो अनुभव सुनाए।
कार्यक्रममा कार्यपालिका सदस्य राजेन्द्र हमाल, अस्पतालका पूर्व अध्यक्षद्वय जनि अहमद शेख र देवेन्द्र कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका कार्यवाहक मन्त्री एवं राष्ट्रिय प्रशिक्षक महेश्वर थपलिया, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव प्रताप डल्लाकोटी, समाजसेवी दीपक गौतम लगायतले मन्तव्य राखेका थिए। अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन रामकान्त पौडेलले गरेका थिए भने कार्यक्रमको समन्वय प्रस्तुती मिडिया प्रा.लि.ले गरेको थियो।
विक्रम संवत २०६५ सालमा बकुलहर हेल्थपोष्टलाई स्तरोन्नति गरी स्थापना गरिएको यस अस्पताललाई २०७७ सालमा बागमती प्रदेश सरकार मातहत रहने गरी ५० शैयामा स्तरोन्नति गरिएको थियो। पछि २०८० सालमा १०० शैयाको स्वीकृति पाएसँगै यो प्रादेशिक अस्पतालमा रूपान्तरण भएको हो। हाल यस अस्पतालमा दैनिक करिब १ हजार बिरामीले उपचार सेवा लिँदै आएका छन्। अस्पतालमा वार्षिक रूपमा बिरामीको चाप निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा २ लाख ९६ हजार ५३८ जना बिरामीले उपचार सेवा लिएकोमा चालु आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा यो संख्या बढेर ३ लाख ३ हजार १५९ पुगेको अस्पतालले जनाएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस