चितवनमा ५० हजारको प्रलोभन देखाई बालिकामाथि यौन दुर्व्यवहार गर्ने होटल सञ्चालक पक्राउ
रत्ननगर, २८ असार ।
चितवनको खैरहनी नगरपालिकामा सञ्चालित एक होटलका सञ्चालक बालबालिका विरुद्धको कसुरमा पक्राउ परेका छन् । खैरहनी नगरपालिकास्थित ‘नमस्ते मिलिजुली खाजा घर’का सञ्चालक ३५ वर्षीय विकास कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटलमा कार्यरत १७ वर्षीया बालिकालाई गत असार ११ गते श्रेष्ठले होटलकै कोठामा बोलाएर ५० हजार रुपैयाँ दिने प्रलोभन देखाउँदै शारीरिक सम्पर्कका लागि प्रस्ताव राखेका थिए । बालिकाले उक्त प्रस्ताव अस्वीकार गर्दा समेत सञ्चालक श्रेष्ठले यौनजन्य मनसायले उनको संवेदनशील अङ्गमा समातेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
यति मात्र नभई, श्रेष्ठले पीडित बालिकाको ह्वाट्सएप र इन्स्टाग्राममा आफ्नो व्यक्तिगत एकाउन्टबाट अश्लील शब्दहरू लेखी सन्देश पठाउने तथा अश्लील भिडियोहरू समेत पठाएर मानसिक र यौनजन्य उत्पीडन दिँदै आएका थिए ।
उक्त घटनाबारे हिजो असार २७ गते जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीमा जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले होटल सञ्चालक विकास कुमार श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र भूषण यादवका अनुसार पक्राउ परेका श्रेष्ठमाथि बालबालिका विरुद्धको कसुर अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस