चितवनमा घुम्ती रक्तदान अभियान निरन्तर : नारायणी किनारमा रक्त सङ्कलन, हालसम्म १२ शृङ्खला सम्पन्न
चितवन, साउन १२ — चितवनमा रगतको अभाव न्यूनीकरण गर्दै आकस्मिक अवस्थामा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘आकस्मिक घुम्ती रक्तदान कार्यक्रम’ निरन्तर विस्तार हुँदै गएको छ।
मानवताको लागि रक्त अभियान को आयोजनामा तथा प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर–चितवन को प्राविधिक सहकार्यमा सञ्चालित उक्त अभियान अन्तर्गत चितवनका विभिन्न स्थानमा पुगेर नियमित रूपमा रक्त सङ्कलन गरिँदै आएको छ। अभियानले हालसम्म १२ वटा घुम्ती रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको आयोजकले जनाएको छ।
अभियानका क्रममा एकै कार्यक्रमबाट अधिकतम ५० जना स्वयंसेवी रक्तदाता सहभागी भई रक्तदान गरेको तथ्याङ्क रहेको छ। यसले जिल्लामा देखिने रगतको अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।
यसैक्रममा मंगलवार नारायणी नदी किनार मा घुम्ती रक्तदान कार्यक्रम आयोजना गरिएको छ। प्राकृतिक वातावरणबीच सञ्चालन गरिएको कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा स्थापित गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको यो अभियानले नियमित रक्तदाता उत्पादन गर्नुका साथै आवश्यक पर्दा बिरामीले समयमै सुरक्षित रगत प्राप्त गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। स्वास्थ्यकर्मीहरूले स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आग्रह गर्दै “रक्तदान जीवनदान” को भावनालाई व्यवहारमा उतार्न सबै नागरिकलाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्।




प्रतिक्रिया दिनुहोस