लायन्स क्लब ज्यामिरेले बृहत् जनचेतनामूलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गर्दै

लोकप्रिय खबर
१ साउन २०८३, शुक्रवार

खैरहनी, साउन १ ।
लायन्स क्लब अफ चैनपुर ज्यामिरेको आयोजनामा तथा लियो क्लब अफ चैनपुर ज्यामिरेको सहकार्यमा साइबर अपराध र लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुने भएको छ ।

वर्तमान समाजको संवेदनशील तथा गम्भीर चुनौतीका रूपमा रहेको लागूपदार्थ दुर्व्यसन र साइबर अपराधलाई नियन्त्रण गर्न व्यापक जनचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमका बारेमा जानकारी दिँदै लायन्स क्लबका अध्यक्ष रमेश बुर्लाकोटीले साउन ३ गते शाही चोकस्थित श्रीकृष्ण मन्दिरबाट प्रभातफेरी सुरु भई कंकाली माध्यमिक विद्यालयमा पुगेर अन्तरक्रिया कार्यक्रम गरिने बताए ।

उनले बढ्दो प्रविधिको दुरुपयोग र युवा पुस्तामा फैलिँदो लागूपदार्थको लत न्यूनीकरण गर्न समाजका हरेक वर्ग, बुद्धिजीवी, आमा समूह, क्लब, संघ–संस्था तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूको सामूहिक प्रयास र एकताबद्धता अपरिहार्य रहेको बताए । समृद्ध र सुरक्षित समाज निर्माणको यस अभियानमा सबैलाई सक्रिय सहभागी भई आम नागरिकलाई सचेत गराउने कार्यमा ऐक्यबद्धता जनाउन क्लबले अपिल गरेको छ ।

क्लबका संस्थापक अध्यक्ष एमजेएफ ज्ञानबहादुर बिसुरालले लागूपदार्थ र साइबर क्राइमले घरपरिवार तथा समाजलाई आक्रान्त बनाइरहेको उल्लेख गर्दै यो क्षेत्रलाई लागूपदार्थमुक्त समाज घोषणा गर्ने लक्ष्य रहेको बताए । प्रविधिको सही सदुपयोग हुन नसक्दा विभिन्न घटना बढिरहेको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा क्लबका पूर्वअध्यक्ष ध्रुव सापकोटा, सचिव अन्जन चालिसे, लियो क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI