सृजनशील युवा समाजको प्रथम वार्षिकोत्सवमा नि:शुल्क दन्त शिविर सम्पन्न, ९७ जनाले लिए सेवा
रत्ननगर, श्रावण २२
रत्ननगर-१, बकुलहरस्थित सृजना टोलमा सृजनशील युवा समाज रत्ननगरको आयोजना तथा क्षितिज डेण्टल केयर प्रा.लि. रत्ननगर-२ को प्राविधिक संयोजनमा एक दिवसीय नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ। सृजनशील युवा समाजको प्रथम ऐतिहासिक वार्षिकोत्सवको अवसर पारेर सो शिविर आयोजना गरिएको हो।

कार्यक्रमको औपचारिक उद्घाटन वडाभित्रका ज्येष्ठ नागरिक देवदत्त पाध्यालाई दन्त सेवा प्रदान गरी शुभारम्भ गरिएको थियो। शिविरमा दक्ष चिकित्सकहरूद्वारा दाँत, गिँजा तथा मुखको स्वास्थ्यसम्बन्धी नि:शुल्क परीक्षण, परामर्श एवं आवश्यक औषधी, मञ्जन र ब्रस समेत वितरण गरिएको थियो।

दन्त शिविरमा कुल ९७ जना स्थानीय बासिन्दाहरूले प्रत्यक्ष सेवा लिएका छन्। जसमध्ये २७ जनाको दाँत निकालिएको थियो भने ३३ जनाले दाँतको एक्स-रे सेवा प्राप्त गरेका थिए। त्यस्तै थप जटिल उपचार आवश्यक परेका १७ जना बिरामीहरूलाई भने उच्च उपचारका लागि अस्पतालमा प्रेषण (रिफर) गरिएको छ। शिविरमा दन्त स्वास्थ्यसम्बन्धी जनचेतनामूलक जानकारी समेत प्रदान गरिएको थियो।

सृजनशील युवा समाजका अध्यक्ष शंकर पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रत्ननगर वडा नं. १ का वडा सदस्य बिन्दु मग्राती प्रमुख अतिथि रहनुभएको थियो। मन्तव्यका क्रममा प्रमुख अतिथि मग्राती, समाजका उपाध्यक्ष गणेश पौडेल, आजीवन सदस्य सुरेशचन्द्र आचार्य तथा सृजना टोलका उपाध्यक्ष एलिना पौडेल पराजुली लगायतले युवा समाजले गरेको यस सामाजिक कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।

सृजनशील युवा समाजका सह-सचिव कृष्णदेव गौतमले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमबारे जानकारी समाजका सचिव रामचन्द्र आचार्यले गराउनुभएको हो। युवाहरू मिलेर आफ्नै क्षेत्रमा सञ्चालन गरेको यस स्वास्थ्य शिविरबाट स्थानीय वडावासीहरू निकै लाभान्वित भएका छन् भने समाजको यस कार्यको सर्वत्र प्रशंसा भइरहेको छ।









लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस