नेपाल मत्स्य विकास संघको अध्यक्षमा पुनः निरन्जन थापा निर्विरोध निर्वाचित
खैरहनी, साउन २३ ।
नेपाल मत्स्य विकास संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले पुनः निरन्जन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। चितवनको खैरहनीमा गरिएको अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सागर न्यौपाने, महासचिवमा इन्द्रमणि भुसाल र कोषाध्यक्षमा भवानी शंकर यादवलाई निर्विरोध निर्वाचित गरेको छ। त्यसैगरी प्रादेशिक नेतृत्वतर्फ कोशी प्रदेश अध्यक्षमा लक्ष्मीप्रसाद शिवाकोटी, मधेश प्रदेश अध्यक्षमा विरेन्द्र प्रसाद चौधरी, बागमती प्रदेश अध्यक्षमा रमेश पाण्डे, गण्डकी प्रदेश अध्यक्षमा यादव पौडेल, लुम्बिनी प्रदेश अध्यक्षमा शशिधर भूषाल, सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी चयन भएका छन्। संघको केन्द्रीय सदस्यहरूमा दीपक थापा र विवेक पौड्याल, श्याम सुन्दर कुशवाह, ढक बहादुर थापा, कृष्ण गिरी, तिर्थराज घिमिरे, प्रदिप कुमार शाह, अरुण कुमार सिंह, सुवास कुर्मि र कमलेश कुमार शाह निर्वाचित भएका छन्।
‘एकताबद्ध मत्स्यपालक किसान, नेपालको समृद्धिमा दिगो योगदान’ भन्ने मूल नाराका साथ आयोजित अधिवेशनको उद्घाटन शुक्रबार कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले गरेकी थिइन्। हाल नेपालमा ३० हजार हेक्टरभन्दा बढी जलक्षेत्रमा माछापालन भइरहेको छ भने १ लाख ७५ हजारभन्दा बढी निजी व्यावसायिक पोखरीहरू सञ्चालनमा छन्। खर्बौैँ रुपैयाँको लगानी रहेको यस क्षेत्रबाट ४० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। वार्षिक करिब २ लाख मेट्रिक टन माछा उत्पादन गर्दै आएको यस क्षेत्रले देशको कुल कृषि गार्हस्थ्य उत्पादनमा १.८ प्रतिशत योगदान पुर्याएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस