पर्वत-रत्ननगर समाजको तदर्थ समितिले पूर्णता पाँउदै, तीजको अवसरमा दर खाने कार्यक्रम आयोजना गरिने
चितवन, साउन २३ ।
चितवनको रत्ननगरमा बसोबास गर्दै आएका पर्वतेलीहरूको संस्था ‘पर्वत चितवन समाज, रत्ननगर नगर कार्य समिति’ (पर्वत-रत्ननगर समाज) ले दोस्रो बृहत् भेलाबाट सदस्यता थप गरेको छ। गत साउन १६ गते आयोजित प्रथम भेलाबाट गठित विष्णु अधिकारी अध्यक्ष रहेको तदर्थ समितिमा शनिबार आयोजित दोस्रो बृहत् भेलाबाट थप सदस्यहरू मनोनयन गरी समितिलाई पूर्णता दिइएको हो।

चितवनको रत्ननगरमा सम्पन्न दोस्रो बृहत् भेलाबाट गोविन्द शर्मा पोखरेल, विष्णु पौडेल, गोपीचन्द्र सापकोटा, दिवाकर लामिछाने र गोविन्द शर्मा पौडेल गरी थप ५ जना सदस्य नगर कार्य समितिमा चयन भएका छन्। सदस्यता थप गर्दा वडा प्रतिनिधित्वलाइ प्रार्थमिकता दिइएको हो ।

यसअघि साउन १६ गते सम्पन्न प्रथम भेलाले विष्णु अधिकारीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति तथा सल्लाहकार समिति गठन गरेको थियो। जसको उपाध्यक्षमा तुलसी गिरी, सचिवमा नरहरी पुरी, कोषाध्यक्षमा मिना गिरी तथा सदस्यहरूमा लक्ष्मी चापागाईं, विष्णु सुवेदी, चन्द्रबहादुर क्षेत्री, गोविन्दप्रसाद पराजुली, डम्बर गिरी, सावित्री भुषाल लामिछाने, कोमल तिमल्सिना, नारायण गिरी र लक्ष्मण गिरी चयन भएका थिए। यस्तै, डम्बर पुरीको संयोजकत्वमा गठित सल्लाहकार समितिमा कुलप्रसाद सापकोटा, शंकर गिरी, बालकृष्ण चापागाईं र उमेश गिरी रहेका छन्।

संस्थाको विधान मस्यौदा तयार पार्नका लागि प्रेमप्रसाद पौडेल, उमाकान्त सुवेदी र बोमप्रसाद अर्याल रहेको विधान मस्यौदा समिति गठन गरिएको छ भने कानुनी सल्लाहकारको जिम्मेवारी गोविन्द गौतमलाई दिइएको छ।
अध्यक्ष विष्णु अधिकारीको सभापतित्वमा सम्पन्न दोस्रो बृहत् भेलामा रत्ननगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा पर्वत चितवन समाजका जिल्ला अध्यक्ष विकास पौडेल, कोषाध्यक्ष अम्बिका अधिकारी, सल्लाहकार टिकाराम भट्टराई, शिक्षाविद् तथा समाजसेवी भुवानीप्रसाद पौडेल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तुलसी गिरीले राख्नुभएको थियो भने सञ्चालन सचिव नरहरी पुरीले गर्नुभएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै अतिथिहरू तथा प्रथम भेला संयोजक एवम् समाजका सल्लाहकार संयोजक डम्बर पुरीले एक आपसमा चिरपरिचित हुन, संगठित बन्न, सामाजिक सेवामा समर्पित हुन र सुख-दुःखमा सहकार्य गर्न समाजको गठन अपरिहार्य रहेको बताउनुभयो।

संस्थाले आगामी दिनमा पर्वतबाट बसाइँ सरेर रत्ननगर आएका नागरिकहरूको यथार्थ लगत संकलन गरी विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्ने र बिस्तारै सबै स्थानीय तहमा संगठन विस्तार गर्दै लैजाने लक्ष्य लिएको छ।

बृहत् भेलाले नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा विशेष ‘तीजको दर खाने कार्यक्रम’ आयोजना गर्ने निर्णयसमेत गरेको छ। सो कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नका लागि मिना गिरीको संयोजकत्वमा हेमा अधिकारी, पार्वती गिरी, विन्दु पौडेल र शारदा आचार्य सदस्य रहेको कार्यक्रम संयोजक समिति गठन गरिएको छ। स्थान र मिति पछि तय गरेर सूचना गरिने जनाइएको छ ।






































लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस