विकासमा ‘अर्ली एक्सन’, चालु आर्थिक वर्षको लागी वडा नं. १५ ले गठन गर्यो नगरपालिकाकै पहिलो उपभोक्ता समिति

लोकप्रिय खबर
२६ साउन २०८३, मंगलबार

रत्ननगर । देशका विभिन्न स्थानीय तह र वडामा विनियोजित बजेट तथा कार्यक्रम समयमै कार्यान्वयन हुन नसक्दा बजेट फ्रिज हुने गरेका उदाहरण प्रशस्तै छन् । कतिपय योजनामा उपभोक्ता समिति गठन नहुँदा कार्यान्वयनमै नजाने र कतिपय योजना आर्थिक वर्ष सकिन लाग्दासम्म सम्झौता हुन नसक्ने समस्या देखिन्छ ।

तर, चितवनको रत्ननगर नगरपालिका–१५ ले भने चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै योजना कार्यान्वयनलाई प्राथमिकता दिएको छ । वडा कार्यालयले नगरपालिकाभित्रै पहिलोपटक उपभोक्ता समिति गठन गर्दै योजना कार्यान्वयनको प्रक्रिया अघि बढाएको हो ।

वडामा विनियोजित दुई लाख रुपैयाँ बजेटबाट रत्ननगर–१५ हरियाली टोलस्थित हरियाली पार्कमा खुला व्यायामशाला निर्माण गर्न उपभोक्ता समिति गठन गरिएको हो । चालु आर्थिक वर्षका लागि नगरपालिकाबाट विनियोजित बजेटलाई समयमै कार्यान्वयन गर्ने उद्देश्यले वडा कार्यालयले उपभोक्ता समिति गठन गरी योजना सम्झौताको प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।

वडाले गत आर्थिक वर्षमा पनि नगरपालिकाका अन्य वडाको तुलनामा योजना कार्यान्वयन र सम्पन्न गर्ने कार्यमा अग्रता लिएको थियो । आर्थिक वर्षको अन्त्यतिर मात्र योजना सम्झौता तथा कार्यान्वयन गर्ने प्रवृत्तिभन्दा फरक ढंगले वडा कार्यालयले सुरुदेखि नै योजनालाई प्राथमिकतामा राख्दै आएको हो ।

योजना कार्यान्वयनमा देखिएको यो सक्रियताको पछाडि वडाध्यक्ष आशिक तामाङको कामप्रतिको लगाव र योजनालाई समयमै सम्पन्न गर्ने प्राथमिकता महत्वपूर्ण रहेको वडा कार्यालयका गतिविधिले देखाउँछन् । जनताका लागि विनियोजन भएको बजेट लामो समयसम्म अलपत्र नराखी समयमै काममा लगाउने र विकास निर्माणका कामलाई आर्थिक वर्षको अन्तिममा थुपार्ने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यका साथ वडा कार्यालय अघि बढेको हो ।

वडाध्यक्ष तामाङले योजना कार्यान्वयनमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष असर नागरिकले पाउने भएकाले बजेट विनियोजन भएलगत्तै आवश्यक प्रक्रिया पूरा गरी काम अघि बढाउने नीति लिएको बताएका छन् ।

स्थानीय तहमा बजेट विनियोजन भए पनि समयमै कार्यान्वयन हुन नसक्दा विकास निर्माण प्रभावित हुने र बजेटसमेत फ्रिज हुने अवस्थाबीच रत्ननगर–१५ को यो अग्रसरतालाई बजेट कार्यान्वयनमा देखिएको व्यावहारिक सक्रियताको उदाहरणका रूपमा लिन सकिन्छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI