‘श्रीपेच–३’ को फाइनलमा चितवनका र्‍यापर कालु मान

चितवनका र्‍यापर कालु मान ‘नेपहपको श्रीपेच–३’ को फाइनलमा, उपाधि चुम्न चितवनबासीसँग भोटको अपील

लोकप्रिय खबर
२६ साउन २०८३, मंगलबार

रत्ननगर, चितवन । नेपाली हिपहप (नेपहप) क्षेत्रको चर्चित रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन–३ को फाइनलमा चितवनका उदीयमान र्‍यापर अभिषेक घिमिरे ‘कालु मान’ प्रवेश गरेका छन्। हजारौँ प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै उत्कृष्ट १० (टप १०) हुँदै उनले फाइनलसम्मको यात्रा तय गरेका हुन्।

रत्ननगर नगरपालिका–१० स्थायी घर भई हाल खैरहनी नगरपालिका–४ मा बस्दै आएका कालु मान नेपाली र्‍याप संगीतमा आफ्नो बेग्लै पहिचान बनाउन सफल नाम हो। यसअघि चर्चित र्‍याप ब्याटल ‘रो बार्ज’ (RAW BARS) सिजन–५ को समेत फाइनलिस्ट भइसकेका उनले लगातार दोस्रो ठूलो राष्ट्रिय मञ्चको फाइनलमा पुगेर आफ्नो सांगीतिक क्षमता पुनः प्रमाणित गरेका छन्।

आफ्नो उत्कृष्ट शब्द रचना, मजबुत फ्लो र मञ्चीय प्रस्तुतिमार्फत निर्णायक तथा दर्शकको मन जित्दै आएका कालु मान यतिबेला उपाधि कब्जा गर्ने अन्तिम तयारीमा जुटिरहेका छन्। देश–विदेशमा रहेका सम्पूर्ण चितवनबासी तथा नेपाली हिपहपप्रेमीहरूको माया र भोटले नै आफूलाई जितको शिखरसम्म पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले भने, “चितवनको नाम राष्ट्रिय मञ्चमा राख्न पाउँदा गर्व लागेको छ। अब श्रीपेचको उपाधि चितवन भित्र्याउन मलाई सम्पूर्ण चितवनबासी तथा शुभचिन्तकहरूको साथ र भोटको खाँचो छ।”

रेडबुलको प्रस्तुति तथा दामी मिडियाको निर्माणमा सञ्चालित ‘नेपहपको श्रीपेच–३’ एपी वान टेलिभिजन र ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ। भ्योमा, मानस घले, यु.एन.बी र योद्धा निर्णायक रहेको यस शोको विजेताले नगद रु. १० लाख, वर्ल्ड टुर र विभिन्न ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ५ लाखसहित वैदेशिक सांगीतिक यात्राको अवसर पाउनेछन्।

चितवनबाट नेपाली हिपहपको प्रतिनिधित्व गर्दै अन्तिम प्रतिस्पर्धामा उत्रिन लागेका कालु मानलाई जिताउनका लागि स्थानीय तह, युवा वर्ग तथा सांगीतिक प्रेमीहरूले सामाजिक सञ्जालमार्फत सहयोग र भोटिङको अभियान समेत सुरु गरिसकेका छन्।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI