न्यु क्यापिटल कलेजद्वारा चौथो ‘न्यु क्यापिटल स्रष्टा सम्मान’ साहित्यकार डल्लाकोटीलाई प्रदान

लोकप्रिय खबर
३० साउन २०८३, शनिबार

चितवन, साउन ३० गते।
पूर्वी चितवनमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अग्रणी शिक्षण संस्था न्यु क्यापिटल कलेजको आयोजनामा ‘न्यु क्यापिटल स्रष्टा सम्मान तथा रचना वाचन’ कार्यक्रमको चौथो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। कलेजको सभाहलमा शनिबार आयोजित उक्त विशेष समारोहमा स्रष्टा गिरिराज डल्लाकोटीलाई नगद २५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित चौथो ‘न्यु क्यापिटल सम्मान २०८३’ बाट सम्मानित गरिएको छ।

कलेजका प्राचार्य भूपेन्द्र धितालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा सम्मानित स्रष्टा डल्लाकोटी र उहाँकी धर्मपत्नी बिना पाठक डल्लाकोटीलाई संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मानपत्रका साथ नगद पुरस्कार हस्तान्तरण गरिएको थियो। कलेजले हरेक वर्ष निरन्तर रूपमा प्रदान गर्दै आएको यो सम्मान यसअघि प्रथम संस्करणमा वरिष्ठ साहित्यकार रामबाबु घिमिरे, दोस्रोमा गणेश शर्मा र तेस्रो संस्करणमा विश्वनाथ खनाललाई प्रदान गरिसकिएको छ।

सम्मानित स्रष्टा गिरिराज डल्लाकोटीको व्यक्तित्व तथा कृतित्वमाथि वरिष्ठ साहित्यकार केशवराज आमोदीले प्रकाश पार्नुभएको थियो। मूल रूपमा धादिङको बेनिघाटमा जन्म भई हाल राप्ती नगरपालिका–६, हर्दी चितवनमा बसोबास गर्दै आउनुभएका डल्लाकोटी पूर्व शिक्षक तथा जन आदर्श बहुमुखी क्याम्पस र बुद्धशान्ति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ। हाल सेवानिवृत्त जीवन बिताइरहनुभएका उहाँ राप्ती साहित्य समाज चितवन र कोपिला साहित्य समाज काठमाडौँका संस्थापक अध्यक्ष हुनुहुन्छ। ‘कोपिला’ र ‘गीतिका’ काव्यप्रविधाका प्रवर्तक डल्लाकोटीका ‘गजल सुधा’ (२०७५), ‘गुम्फन’ (२०८१), ‘गुञ्जिका’ (२०८२) प्रकाशित छन् भने ‘गवेषण’ (लघुकथा सङ्ग्रह) प्रेसमा रहेको छ।

यसैगरी, कलेजमा अध्यापनरत र साहित्यमा कृति प्रकाशन गरिसकेका शिक्षकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्राचार्य भूपेन्द्र धितालको परिकल्पनामा यसै वर्षदेखि नयाँ सम्मानको सुरुवात गरिएको छ। कलेजका अध्यापकहरू दुर्गा घिमिरे, नरेन्द्र पौडेल र विष्णु पौडेल अपरिचितमध्ये एक जनालाई सम्मानित गर्ने योजनाअनुसार प्रथम न्यु क्यापिटल स्रष्टा रामबाबु घिमिरेले गर्नुभएको गोलाप्रथाबाट अध्यापक दुर्गा घिमिरे चुनिनुभएको थियो। उहाँलाई नगद ५ हजार रुपैयाँसहित सोही मञ्चमा सम्मान गरिएको जानकारी कार्यक्रम सञ्चालक एवं नेपाली विषयका अध्यापक विष्णु सापकोटाले गराउनुभयो।

कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख तथा कार्यक्रम संयोजक डा. ताराप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि कालिका संस्कृत विद्यापीठका प्राचार्य डाक्टर केशवराज चालिसे रहनुभएको थियो। कार्यक्रममा प्रथम न्यु क्यापिटल सम्मानबाट सम्मानित वरिष्ठ साहित्यकार रामबाबु घिमिरे, तेस्रो संस्करणका सम्मानित स्रष्टा विश्वनाथ खनाल, कालिका प्याब्सन अध्यक्ष नवीन थापा, चितवन प्याब्सन उपाध्यक्ष कृष्ण भट्ट, पठन संस्कृतिका अभियन्ता उदय अधिकारी तथा साहित्यकार चेतराज रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

समारोहको अर्को मुख्य आकर्षण रचना वाचन रहेको थियो। कार्यक्रममा साहित्यकारहरू तिलकराज शर्मा, रामशरण थपलिया, गीता लामिछाने, चिरञ्जीवी दाहाल, मणिराम नेपाल, धनराज गिरी, तुलसी पण्डित, करुणा उदासी कृष्ण, यमुना न्यौपाने, राजेन्द्र घायलका साथै कलेजका अध्यापक नरेन्द्र पौडेल र विद्यार्थीहरू विपिन भुजेल, अनमोल पन्त, पुष्पा सहकारी, सपना बिक, दिप्सना बर्तौला र सक्षम अर्यालले आ-आफ्ना उत्कृष्ट साहित्यिक रचनाहरू प्रस्तुत गर्नुभएको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI