रत्ननगर अस्पतालमा वर्षैपिच्छे बढ्दै बिरामीको चाप: एक वर्षमा ३ लाखभन्दा बढीले लिए ओपिडी सेवा
रत्ननगर, साउन ३१ ।
पूर्वी चितवनको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको बकुलहर रत्ननगर अस्पतालमा हरेक वर्ष बिरामीको विश्वास र चाप निरन्तर बढ्दै गएको छ। अस्पतालले स्तरोन्नतिसँगै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउँदै लगेपछि उपचारका लागि आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा ओपिडी, आकस्मिक (इमर्जेन्सी), भर्ना, प्रसूति तथा विभिन्न शल्यक्रिया गराउने बिरामीको संख्या बढेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३ लाख १७ हजार २६६ जना बिरामीले ओपिडी सेवा लिएका छन्, जबकि अघिल्लो वर्ष यो संख्या २ लाख ९६ हजार ५३८ मात्रै थियो। यस्तै, आकस्मिक सेवातर्फ २७ हजार ६६ जना र भर्ना भएर उपचार गराउने बिरामीको संख्या ४ हजार ६८५ पुगेको छ।
अस्पतालमा प्रसूति सेवा लिने महिलाको संख्यामा पनि वृद्धि भएको देखिएको छ। गत वर्ष ९२५ जना गर्भवती महिलाले सेवा लिएकोमा ४५२ जनाको सामान्य, ४७० जनाको शल्यक्रिया (सिजरियन) र ३ जनाको भ्याकुम प्रविधिबाट सफल प्रसूति गराइएको छ। शल्यक्रिया सेवातर्फ पनि १ हजार २७१ जनाको जटिल र १ हजार १२७ जनाको साधारण शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अंकुर पौडेलले जानकारी दिए।
स्थानीय तह र सर्वसाधारणको निरन्तरको विश्वासकै कारण आज ओपिडी, इमर्जेन्सी र शल्यक्रियातर्फ बिरामीको उपस्थिति बाक्लो बनेको मेसु डा. पौडेलको भनाइ छ। जनशक्तिको उचित व्यवस्थापन र अत्याधुनिक प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पूर्वी चितवनका नागरिकलाई अझै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको उनले बताए।
अस्पतालले अबको केही दिनमै ‘बायोप्सी टेस्ट’ (मासुको जाँच) सेवा सुरु गर्न लागेको जानकारी पनि डा. पौडेलले दिए। देशभरका अन्य प्रादेशिक अस्पतालहरूमा हालसम्म यो सेवा उपलब्ध नरहेको दाबी गर्दै रत्ननगर अस्पताल बायोप्सी सेवा सुरु गर्ने पहिलो प्रादेशिक अस्पताल बन्ने उनले बताए। यसका साथै अस्पतालमा डायलासिस सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सिटी स्क्यान मेसिनको लागि आवश्यक प्रक्रिया पूरा भइसकेको र प्रदेश तथा केन्द्र सरकारबाट प्रतिबद्धता प्राप्त भइसकेकाले छिट्टै मेसिन भित्रिनेमा उनी विश्वस्त छन्। त्यस्तै मातृशिशु स्वास्थ्यका लागि निर्माणाधीन छुट्टै भवन पनि निर्माणको अन्तिम चरणमा पुगेकाले चाँडै सञ्चालनमा ल्याइने तयारी छ।
विशेषगरी रत्ननगर नगरपालिकासहित कालिका, खैरहनी र राप्ती नगरपालिकालगायत पूर्वी चितवन र आसपासका क्षेत्रबाट दैनिक ठूलो संख्यामा बिरामीहरू उपचारका लागि यहाँ आउने गर्छन्। सुलभ, प्रविधियुक्त र भरोसायोग्य उपचार पाउन थालेपछि बकुलहर रत्ननगर अस्पतालप्रतिको जनविश्वास झनै मजबुत बन्दै गएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस