रत्ननगरको आधारभूत विद्यालय बेल्सीमा शैक्षिक सामग्री वितरण, विद्यार्थीको नतिजा सार्वजनिक र उत्कृष्टलाई पुरस्कार
चितवन, ५ भाद्र । ‘शिक्षामा साझा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बोटलर्स नेपाल (तराई) लिमिटेडको कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको आर्थिक सहयोग तथा क्यानोपी नेपालको आयोजनामा रत्ननगर नगरपालिका वडा नं. ३ बेल्सीस्थित श्री आधारभूत विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित एक औपचारिक समारोहका बीच कक्षा प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक कापी, कलम, सिसाकलम, पेन्सिल कलरका साथै पठन संस्कृति अभिवृद्धि गर्ने उद्देश्यका १०० थान ‘कथा बुनौ’ कार्यपुस्तिका हस्तान्तरण गरिएको हो।

क्यानोपी नेपालकी प्रोग्राम म्यानेजर अञ्जुला जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र महतोले स्वागत मन्तव्य व्यक्त गर्दै निजी क्षेत्र र सामाजिक संस्थाहरूको यो सहयोगले सामुदायिक विद्यालयका बालबालिकाको सिकाइमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बोटलर्स नेपाल (तराई) लिमिटेडका सीएसआर तथा स्टेकहोल्डर म्यानेजर प्रकृति बस्यालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा र बालबालिकाको भविष्य निर्माणमा योगदान पुर्याउन पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता समुदायकेन्द्रित कार्यक्रमहरूलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। त्यसैगरी विशिष्ट अतिथि रत्ननगर वडा नं. ३ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले कोका-कोला र क्यानोपी नेपालले रत्ननगर नगरपालिकासँग मिलेर चलाएको यो अभियानको प्रशंसा गर्नुभयो। विशेष गरी विपन्न वर्गका बालबालिकाको शैक्षिक स्तर उकास्न र उनीहरूलाई नियमित विद्यालय आउने वातावरण बनाउन यस्ता सामग्री वितरण कार्यक्रमको विशेष महत्त्व रहने धारणा उहाँले राख्नुभयो।

स्टेसनरी वितरणसँगै सोही समारोहमा विद्यालयको प्रथम त्रैमासिक परीक्षा २०८३ को परीक्षाफल समेत आधिकारिक रूपमा प्रकाशन गरिएको थियो। परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल बालबालिकाहरूलाई प्रमुख अतिथि नगर शिक्षा अधिकारी वाग्ले, वडा अध्यक्ष खरेल, क्यानोपी नेपालकी अञ्जुला जोशी, बोटलर्स तराईकी प्रकृति बस्याल, प्रधानाध्यापक रामचन्द्र महतो तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरूले संयुक्त रूपमा पुरस्कार एवं बधाई प्रदान गर्नुभएको थियो। शैक्षिक प्रोत्साहन र सामाजिक उत्तरदायित्वको यो साझा प्रयासले बेल्सी क्षेत्रका बालबालिका र अभिभावकहरूमा थप उत्साह जगाएको छ।





लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस