सङ्कटको बेला मनकारी परिवारको लोभलाग्दो उदाहरण: वृद्ध आमाबुबाको भत्ताको रकम राहत कोषमा जम्मा

लोकप्रिय खबर
२१ भदौ २०८३, आइतबार

चितवन, भदौ। भदौ १० गते रसुवाको भोटेकोशी लगायत विभिन्न भू-भागमा आएको भयावह बाढी र प्राकृतिक विपत्तिले कैयौँ नागरिकको जीवन प्रभावित बनेको छ। यस्तो कठिन परिस्थितिमा सरकारको आलोचना मात्रै गरेर बस्नुभन्दा सहजीकरण र सहयोगको हात बढाउनु नै सच्चा नागरिक कर्तव्य हो भन्ने भावनालाई चितवनको एक परिवारले चरितार्थ गरिदिएको छ। रत्ननगर नगरपालिका वडा नं. १५ सुरक्षित टोल निवासी बस्नेत परिवारले प्रधानमन्त्री उद्धार तथा राहत कोषमा रु. ५०,५५५ रकम जम्मा गरी अनुकरणीय सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको छ।
साँच्चै, भगवान् खोज्न कतै भौतारिनु पर्दैन, हाम्रै घरमा रहेका अग्रजहरूको विचार र संस्कारमा ईश्वरको वास हुन्छ भन्ने कुरालाई यस परिवारले प्रमाणित गरिदिएको छ। देश र देशवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू पीडामा परेको देखेपछि ९७ वर्षका परम पूजनीय पिता डिलबहादुर बस्नेत र ९५ वर्षकी परम पूजनीय ममतामयी माता धनमाया बस्नेतले आफूहरूले पाउने तीन महिनाको सामाजिक सुरक्षा भत्ता बापतको २५,२७० रुपैयाँ पीडितको उद्धारका लागि राहत कोषमा पठाउने इच्छा व्यक्त गर्नुभएको थियो। आफ्ना जीवित देवतुल्य आमाबुबाको यो पवित्र सल्लाहलाई छोरा ईश्वर बाबु बस्नेतले सहर्ष स्वीकार गर्नुभयो।
यस पुण्य कार्यमा परिवारकी छोरी सोसरहकी बुहारी गङ्गादेवी थापा बस्नेतले पनि आफ्ना स्वर्गीय पिता अम्मरबहादुर थापा र स्वर्गीय माता कृष्णकुमारी थापाको स्मृतिमा २५,२७७ रुपैयाँ थप गर्नुभयो। यसरी बस्नेत र थापा परिवारका तर्फबाट कुल ५०,५५५ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ। यो योगदानमा छोरा ईश्वर बाबु बस्नेत, बुहारी गङ्गादेवी, नाति निराजन, नातिनी बुहारी एलिना, नातिनीहरू निशा र निश्मा तथा पनाती लुकास (पुन्टे) बस्नेतको ऐक्यबद्धता रहेको छ।
वृद्ध उमेरका आमाबुबाले आफ्नो सामाजिक सुरक्षा भत्ता राज्यका विपद्‌मा परेका नागरिकका लागि सुम्पिनु र स्वर्गीय पितृहरूको स्मृतिमा समेत सहयोग रकम जुटाउनु आफैँमा अत्यन्त प्रेरणादायी प्रसङ्ग हो। यो सानो मुठी दानले वास्तविक पीडितहरूको घाउमा थोरै भए पनि मलम लगाउन सकोस् र सरकारलाई राहत वितरणमा सहजता मिलोस् भन्ने यस परिवारको सङ्कल्प छ। बाढी पहिरोको यो कारुणिक घडीमा सबैमा सकारात्मक सोच र सहयोगको भावना जागृत होस् भन्ने कामना गर्दै बस्नेत परिवारले देखाएको यो बाटो अन्य सम्पूर्ण नागरिकका लागि पनि एक उत्कृष्ट प्रेरणाको स्रोत बनेको छ।
सो सहयोग रकम नेपाली कांग्रेस रत्ननगर वडा नं १५ को समितिको समन्वयमा नेपाली कांग्रेस चितवन जिल्ला विपद् कोष मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI