पार्टी नेतृत्व सम्हाल्नेले स्थानीय चुनाव नलड्ने प्रतिबद्धता जनाउनुपर्छ: सुमित पराजुली

लोकप्रिय खबर
३१ भदौ २०८३, बुधबार

चितवन

नेपाली कांग्रेसको आन्तरिक रूपान्तरण र संगठन सुदृढीकरणका लागि पार्टी नेतृत्वमा रहेका पदाधिकारीहरूले स्थानीय तहको निर्वाचनमा पदको दाबी गर्न नहुने बहस सुरु भएको छ। पार्टीको आसन्न १५ औं महाधिवेशनअन्तर्गत भरतपुर महानगरपालिकाको नगर सचिव पदका उम्मेदवार सुमित पराजुलीले बदलिएको कांग्रेस निर्माणका लागि आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्ने भन्दै यस्तो आह्वान गर्नुभएको हो।

पराजुलीले पार्टीको नेतृत्व र जनप्रतिनिधिको भूमिकालाई स्पष्ट रूपमा छुट्याउनुपर्नेमा जोड दिँदै नेतृत्व तहमा पुग्ने नेताहरूले आगामी स्थानीय निर्वाचनमा कुनै पनि पदको दाबी नगर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ। “हामी पार्टी सम्हाल्छौँ, संगठन बलियो बनाउँछौँ र स्थानीय तहमा योग्य, सक्षम तथा नयाँ पुस्तालाई अघि बढाउँछौँ,” उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूमाझ आफ्नो धारणा राख्दै भन्नुभयो।

अहिलेको राजनीतिक परिस्थितिमा नेतृत्व भनेको केवल पद ओगट्नु मात्र नभई नयाँ पुस्ताका लागि अवसरको सिर्जना गर्नु रहेको उम्मेदवार पराजुलीको भनाइ छ। पार्टीभित्र युवा र सक्षम कार्यकर्ताहरूलाई स्थानीय तहको जनप्रतिनिधिका रूपमा अघि बढाएर संगठनलाई विचार र नीतिगत रूपमा सशक्त बनाउन यो कदम कोसेढुङ्गा सावित हुने उहाँको तर्क छ।

महानगर सचिवका उम्मेदवार पराजुलीले उठाएको यो विषयलाई कांग्रेसभित्र नयाँ ऊर्जा थप्ने, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र संगठनलाई नयाँ दिशा दिने सकारात्मक कदमका रूपमा हेरिएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI