अर्किड स्कुलको १५औँ वार्षिकोत्सब: एसइई उत्कृष्ट विद्यार्थीलाई लाखौँ नगदसहित सम्मान
भरतपुर,फागुन ८- भरतपुर–१०स्थित अर्किड स्कुलले आफ्नो १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गर्दै शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।
विद्यालयले २०८१ सालको एसईई परीक्षामा ‘४ जिपिए’ ल्याउन सफल तीन विद्यार्थी समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदीलाई जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको छ। यसैगरी ३.८ भन्दा माथि जीपीए ल्याउने अन्य विद्यार्थीहरूलाई पनि पदकसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा ज्येष्ठ अभिभावक सम्मान अन्तर्गत ९८ वर्षीय मनहर्क अधिकारी र ८७ वर्षीया गंगा देवी चापागाईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै, नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गरी एमबीबीएसतर्फ पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल सञ्जय सुवेदीलाई विशेष पुरस्कारसहित सम्मान गरिएको जानकारी दिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनालले विद्यालयका सकारात्मक गतिविधिमा वडाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै सक्षम र उर्जावान नागरिक उत्पादनमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। त्यस्तै, प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले संस्थागत विद्यालयहरूले विभिन्न चुनौतीका बीच पनि देशको शैक्षिक तथा सामाजिक विकासमा योगदान पुर्याइरहेको भन्दै अर्किड स्कुलको प्रशंसा गर्नुभयो।
विद्यालयका शिक्षक तथा पत्रकार मनोज पन्तले सञ्चालन गर्नुभएको कार्यक्रममा सह–प्राचार्य पुरुषोत्तम दुवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्राचार्य डा. खेम आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम विद्यालयका अध्यक्ष तथा प्रवन्ध निर्देशक आकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस