रत्ननगर-१० मा निःशुल्क स्वास्थ्य शिविर : २७८ जनाको स्वास्थ्य परीक्षण
रत्ननगर, फागुन १० ।
रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, बैरियामा आइतबार स्तन तथा पाठेघर मुखको क्यान्सर परीक्षण र मधुमेह परीक्षण सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।शिविरको उद्घाटन रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले गरेका थिए ।
रत्ननगर नगरपालिका वडा नं. १० को आयोजना तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र, बैरियाको सहकार्यमा सञ्चालित उक्त शिविरमा कुल २७८ जनाको स्वास्थ्य परीक्षण गरिएको वडाध्यक्ष कलाधर पौडेलले जानकारी दिए।
वडाध्यक्ष पौडेलका अनुसार वडाका उल्लेख्य संख्यामा महिला दिदीबहिनीहरूको उपस्थिति भएकाले शिविरमा सबै महिलाको परीक्षण गर्न नसकिएको र नाम दर्ता गरी बाँकी रहेका महिलाहरूको स्वास्थ्य परीक्षण सोमबार गरिने बताए ।
शिविरमा १ जना पाठेघर खसेको बिरामी, पाठेघरको मुखमा घाउ भएको १० जना बिरामी, स्तनमा गाँठो देखिएको ५ जना बिरामी फेला परेको वडा सचिव सुरेन्द्र चौधरीले जानकारी दिए । साथै १६८ जनाको मधुमेह परीक्षण समेत गरिएको उनले बताए । शिविरमा परीक्षणको महत्वबारे स्वास्थ्य शाखाकी फोकल पर्सन अम्बिका पौडेलले जानकारी गराएकी थिइन ।
वडाध्यक्ष कलाधर पौडेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य गोमा भण्डारीले राखेकी थिइन भने कार्यक्रम सञ्चालन वडा सचिव सुरेन्द्र चौधरीले गरेका थिए ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस