रत्ननगरमा आयोजित दुई दिने अटिजम व्यवस्थापन सम्बन्धी शिक्षक–अभिभावक तालिम सम्पन्न

लोकप्रिय खबर
२७ वैशाख २०८३, आइतबार

रत्ननगर, चितवन (२७ वैशाख) ।
श्री राष्ट्रिय आधारभूत विद्यालय अमिलिया, रत्ननगर–१३ को आयोजना तथा रत्ननगर नगरपालिकाको सहयोगमा सञ्चालित ‘अटिजम भएका बालबालिकालाई घर तथा विद्यालयमा गर्न सकिने व्यवस्थापन सम्बन्धी शिक्षक–अभिभावक तालिम’ आइतबार सम्पन्न भएको छ। रत्ननगर नगरपालिकाको सभाहलमा वैशाख २६ गतेदेखि सुरु भएको उक्त दुई दिने तालिम आज (वैशाख २७ गते) अनुभव आदानप्रदान तथा प्रमाणपत्र वितरणसहित समापन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी पुरीको सभापतित्व तथा रत्ननगर वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यतामा समापन समारोह सम्पन्न भएको थियो। कार्यक्रममा तालिममा सहभागी ८० जना अभिभावक तथा शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

समापनको अवसरमा सिकाइ र अनुभव आदानप्रदान गर्दै सहभागी अभिभावक महिलातर्फबाट अनु चौरासिया र पुरुषतर्फबाट तुलसीराम खरेलले मन्तव्य राखेका थिए। उनीहरूले यस तालिमले अटिजम भएका बालबालिकाको हेरचाह र व्यवस्थापनमा महत्त्वपूर्ण ज्ञान प्रदान गरेको बताए।

कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र (रत्ननगर-१५) की इन्चार्ज रोजिना गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष युवराज खतिवडा, कार्यक्रम संयोजक तथा विद्यालय व्यवस्थापन समिति सदस्य ज्योति भट्ट र वि.व्य.स. सदस्य लक्ष्मी देवी तामाङ अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन शिक्षिका सरु पौडेलले गरेकी थिइन्।

दुई दिनसम्म चलेको यस आवासीय प्रकृतिको तालिममा विभिन्न जिल्लाबाट आएका विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए।

समित कुमार कतिला (इन्क्लुसिभ एजुकेसन तथा पेडियाट्रिक फिजियोथेरापिस्ट)

सिम्रन बस्न्यात (चाइल्ड साइकोलोजिस्ट)

सुष्मा लामिछाने (स्पिच थेरापिस्ट)

तालिममा वीरगञ्ज (पर्सा), मकवानपुर, चितवन, नवलपरासी लगायतका क्षेत्रबाट ८० जना शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसअघि शनिबार (वैशाख २६ गते) रत्ननगर नगरपालिकाको सामाजिक विकास समिति संयोजक तथा वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो। उद्घाटन सत्रमा वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे विशिष्ट अतिथि रहेका थिए भने नगरपालिकाका कार्यपालिका सदस्यहरू, शिक्षा शाखा अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख र अटिजम केयर सोसाइटी चितवनका अध्यक्ष सुनिल गैरे लगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय आधारभूत विद्यालय अमिलियाले अटिजम भएका बालबालिकाहरूको शिक्षामा विशेष योगदान दिँदै आएको छ। हाल विद्यालयको अटिजम केयरमा २६ जना विद्यार्थी अध्ययनरत छन् भने जारी नयाँ भर्ना अभियानमार्फत थप ७ जना बालबालिका जोडिएका छन्।

अटिजम केयरमा हाल दुई जना स्वयंसेवी शिक्षक र एक जना सहयोगी शिक्षक मात्र कार्यरत छन्। कार्यक्रममा विद्यालयमा दक्ष जनशक्तिको अभाव, उपयुक्त भौतिक पूर्वाधार र बाल उद्यान (पार्क) को कमी रहेको औंल्याउँदै सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराइएको थियो।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI