नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिकतामा आधारित हुनुपर्नेमा विज्ञहरूको जोड
काठमाण्डौ, साउन २७ ।
नेपाल कानून समाज तथा संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति : अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक संवैधानिक संवादमा विज्ञ तथा सरोकारवालाहरूले बदलिँदो विश्व भूराजनीतिक परिवेशअनुसार नेपालको परराष्ट्र नीतिलाई थप स्पष्ट, स्थिर र संस्थागत बनाउनुपर्नेमा जोड दिएका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका वक्ताहरूले परराष्ट्र नीति कुनै दल वा सरकारको नभई संविधानमा आधारित राष्ट्रिय नीति भएकाले यसलाई व्यक्ति वा राजनीतिक स्वार्थबाट मुक्त राख्नुपर्ने बताएका छन्। कार्यक्रममा पूर्वमुख्य सचिवहरू डा. शंकरदास बैरागी, लीलामणि पौडेल, एकनाथ अर्याल, पूर्वराजदूत मधुरमण आचार्य, पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महत, सांसद सुम्निमा उदासलगायत विज्ञहरूले भारत र चीनजस्ता छिमेकीहरूसँग पञ्चशीलका सिद्धान्तमा आधारित सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिएका थिए। साथै राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्ने, खुला सीमानाको प्रभावकारी व्यवस्थापन गर्ने, आर्थिक कूटनीतिमार्फत व्यापार र पर्यटन प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि सुधार्ने जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सहभागीहरूको साझा धारणा रहेको थियो।






लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस