हेटौंडामा बोराभित्र महिलाको शव फेला, सनाखतका लागि प्रहरीको अपिल
रत्ननगर, साउन २९।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड फायरलाइन नजिकैको सामुदायिक वनमा साउन २२ गते दिउँसो सेतो रङको बोराभित्र पोको पारिएको अवस्थामा एक महिलाको बीभत्स शव फेला परेको छ। दिउँसो करिब साढे १ बजे स्थानीयले वनभित्र शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। महिलाको अनुहार तथा शरीरमा गम्भीर चोटपटक देखिएकाले हत्या गरेर शव फालिएको हुनसक्ने आशंकामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुक्ष्म अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मृतक महिलाको सनाखत हुन सकेको छैन। अन्दाजी ३० देखि ३२ वर्ष उमेर, ५ फिट १ इन्च उचाइ, ठिक्कको शरीर र कालो तथा लामो कपाल भएकी ती महिलाले अगाडि सेतो बुट्टा भएको गुलाबी कुर्था र सेतो सुरुवाल लगाएकी छन्। उनका हातमा हरियो र रातो रङका १/१ वटा चुरा, देब्रे कानमा सुनजस्तो देखिने पहेँलो धातुको मुन्द्रा र दुवै खुट्टाको बुढी औँला छेउको औँलामा सेतो बिच्छिया रहेका छन्।
विशेषज्ञद्वारा शवको स्केच तथा हुलियाका विवरणहरू तयार पारिएको जानकारी दिँदै प्रहरीले उल्लेखित हुलिया, कपडा तथा गहनाका आधारमा मृतकलाई चिन्नुहुने वा उहाँका आफन्तजनहरूले यथाशीघ्र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको मोबाइल नम्बर ९८५५०९०१५० मा सम्पर्क गरी सनाखतमा सहयोग गरिदिन अपिल गरेको छ।










लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस