इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

लोकप्रिय खबर
२४ कार्तिक २०८२, सोमबार
सारांश
Summary by AI
  • चितवनको इच्छाकामना मन्दिर परिसरमा पर्यटन प्रवर्द्धनका लागि दुई दिने मेला लाग्ने भएको छ, जसमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।
  • हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजासहित बलि चढाउने परम्परा रहेको यस मन्दिरमा इच्छा पूरा हुने तथा सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ।
  • समुद्री सतहदेखि १८०० मिटरको उचाइमा रहेको यो स्थल धार्मिक पर्यटकीय सम्भावना बोकेको छ, जहाँबाट हिमाली शृङ्खला र लालीगुराँसले ढाकिएको सुन्दर वातावरण देख्न सकिन्छ।
  • मन्दिर पुनर्निर्माण, खानेपानी, विद्युत् तथा अन्य भौतिक पूर्वाधारको विकासपछि भारतीय पर्यटकसहित धार्मिक पर्यटकको आवागमन बढेको छ।
00:00 / 00:00
🔊
Audio By AI

चितवन ।  पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुई दिने मेला लाग्ने भएको छ ।  मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए। मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहने उनले जानकारी दिए ।

इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नहुनेहरूका लागि सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । मनकामना देवीको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।

इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको स्थल हो । समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहको मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेका लालीगुराँसले वरिपरिको वातावरण रङ्गिन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश र माछापुच्छ्रेसम्म पनि देख्न सकिन्छ ।

मन्दिर पुनर्निर्माणसँगै खानेपानी, विद्युत् सेवा र अन्य भौतिक पूर्वाधार निर्माणपछि यहाँ धार्मिक पर्यटकको आवागमन बढेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । पछिल्लो केही वर्षयता भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको अध्यक्ष गुरुङले बताए । फिस्लिङ–शक्तिखोर सडक र मुग्लिन–तामिन सडक प्रयोग गरेर पर्यटक मन्दिर पुग्ने गरेका छन् । यहाँ सार्वजनिक बिदा र शनिबारको दिन मन्दिर दर्शन गर्न र वनभोज खान आउने पर्यटकको घुइँचो लाग्ने गर्छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI