१९औं चितवन हात्ती तथा पर्यटन महोत्सव ऐतिहासिक रूपमा सम्पन्न, आयोजकद्वारा सहयोगीप्रति आभार व्यक्त

लोकप्रिय खबर
१४ पुष २०८२, सोमबार

चितवन, १४ पुस। क्षेत्रीय होटल संघ नेपाल (RHAN), चितवनको आयोजनामा सञ्चालन भएको १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८२ ऐतिहासिक सफलताका साथ सम्पन्न भएको छ। महोत्सव भव्य रूपमा सम्पन्न भएपछि आयोजकले आज एक विज्ञप्ति जारी गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गरेको छ।

महोत्सवका कार्यक्रम संयोजक गुणराज थपलियाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा महोत्सव सफल बनाउन सामूहिक योगदान गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको छ। विज्ञप्तिमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिएकोमा विशेष आभार प्रकट गरिएको छ। साथै, बागमती प्रदेशका मन्त्रीहरू सुरेश श्रेष्ठ, जयराम थापा, कृष्णकुमार तामाङ, भरत बहादुर के.सी., बिनु रायमाझी लगायत प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीप्रति आयोजकले कृतज्ञता व्यक्त गरेको छ।

आयोजकले नेपाल पर्यटन बोर्ड, नाट्टा, पाटा, टान लगायत पूर्व-पश्चिमबाट आउनुभएका पर्यटन व्यवसायीहरूको निरन्तर साथको प्रशंसा गरेको छ। स्थानीय तहको सहयोगको स्मरण गर्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा र कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी लगायत सम्पूर्ण नगरपालिका परिवारलाई धन्यवाद दिइएको छ।

सुरक्षा तथा व्यवस्थापनमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कसरा ब्यारेक प्रमुख, चितवनका प्रहरी प्रमुख गोविन्द पुरी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त लगायत सशस्त्र प्रहरी बललाई पनि आयोजकले सम्झेको छ।

महोत्सवलाई देश–विदेशमा चिनाउन भूमिका खेल्ने सञ्चारकर्मी, राष्ट्रिय प्रकृति संरक्षण कोष, मध्यवर्ती सामुदायिक वन समूहहरू (बाघमारा, कुमरोज, चित्रसेन, जनकौली), साना पर्यटन समिति, सौराहा बचत तथा ऋण सहकारी संस्था र टोल विकास संस्थाहरूको सहयोग अतुलनीय रहेको संयोजक थपलियाले बताएका छन्।

कला र संस्कृतिको माध्यमबाट महोत्सवलाई जीवन्त बनाउने कलाकार, बाध्यबादक तथा रत्ननगर कला मन्दिरलाई पनि विशेष सम्मान व्यक्त गरिएको छ। आयोजकले आगामी दिनमा पनि पर्यटन प्रवर्द्धनका कार्यमा यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा राखेको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI