नाग पूजालाई मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीकका रुपमा हेरिन्छ : डा. चिन्तामणि योगी

नागलाई दूध अर्पण गर्नु भनेको शत्रुलाई मित्र बनाउने उपाय हो : डा. चिन्तामणि योगी

काठमाडौं । श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागदेवताको पूजा–आराधना गरी नागपञ्चमी पर्व मनाउने परम्परा छ । यस दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने, दूध तथा अन्य पूजासामग्री अर्पण गर्ने परम्परा छ ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार नागलाई देवताको रूपमा पूजा गर्ने प्रचलन रहेपनि यसको सम्बन्ध प्रकृति, पर्यावरण र मानव–जीव सहअस्तित्वसँग समेत जोडिएको संस्कृतिविद्हरू बताउँछन् ।

संस्कृतिविद्, अध्यात्म चिन्तक एवम् शिक्षासेवी डा. चिन्तामणि योगीले नागपूजा केवल सर्पको पूजा नभई प्रकृतिको मूल शक्ति र प्रारम्भिक जीवप्रति सम्मान गर्ने नेपाली संस्कृतिको महत्वपूर्ण परम्परा भएको बताए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नेपालले नागलाई समेत सम्मान गर्न सिकाएको भन्दै नागपूजालाई मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीकका रूपमा व्याख्या गरे ।

‘दुनियाँले नेपाललाई पाखे भन्यो तर नेपाल यस्तो देश हो, जहाँ नागको पनि पूजा गर्न सिकायो । अस्तित्वलाई सम्मान गर्न सिकायो । धर्तीको पहिलो जीव नाग, जलमा पनि नाग, थलमा पनि नाग, जंगलमा पनि नाग,’ उनले भने ।

योगीका अनुसार हिन्दू दर्शनमा भगवान विष्णुको शेषनागमाथिको शयन र भगवान शिवको गलामा नागको उपस्थितिले पनि नागलाई विशेष शक्ति र अस्तित्वका रूपमा स्वीकार गरिएको देखाउँछ ।

‘भगवान विष्णु कहाँ पल्टेका छन् ? नागासन । शान्ताकारं भुजगशयनम् । भगवान शिवको पनि घाँटीमा नाग छ । त्यसैले नाग भनेको सृष्टिको प्रारम्भिक जीव र महाशक्तिको प्रतीकका रूपमा पनि बुझ्न सकिन्छ,’ उनले भने ।

उनले नेपाली संस्कृति आदिकालदेखि नै प्रकृति र जीवजन्तुप्रति सम्मान गर्ने परम्परामा आधारित रहेको बताए । नागपञ्चमीमा पूजा गरिने नागलाई धार्मिक प्रतीकसँगै प्रकृतिको एउटा महत्वपूर्ण हिस्सा मानेर संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।


योगीले शास्त्रमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ प्रकारका नागको उल्लेख रहेको बताए । उनका अनुसार नागसम्बन्धी अवधारणा केवल अहिले देखिने सर्पमा सीमित नभई नाग जाति, नाग विद्या र नागलोकजस्ता विभिन्न सांस्कृतिक तथा दार्शनिक अवधारणासँग जोडिएको छ ।

काठमाडौं उपत्यकाको इतिहाससँग समेत नागको सम्बन्ध रहेको उल्लेख गर्दै उनले गुरु गोरखनाथसँग जोडिएको कथाको प्रसंग सुनाए । उनका अनुसार गोरखनाथले नागहरूलाई सम्मोहित गरेर तपस्या गरेपछि वर्षा रोकिएको र त्यसपछि उपत्यकामा पानीको अभाव भएको भन्ने सांस्कृतिक कथा प्रचलित छ ।

नागपूजाको अर्को महत्वपूर्ण पक्ष मानव र सर्पबीचको सहअस्तित्व रहेको योगी बताउँछन् । सर्पले मानिसलाई अनावश्यक रूपमा आक्रमण नगर्ने भन्दै उनले सर्पलाई देख्नेबित्तिकै मार्ने वा डराउने प्रवृत्ति त्याग्न आग्रह गरे ।

उनले भने, ‘तपाईंलाई नागसँग, सर्पसँग भय मान्नुपर्ने कुनै कारण छैन । कुनै पनि सर्पले त्यत्तिकै तपाईंलाई डस्दैन । तपाईंको व्यवहारले उसलाई असुरक्षा महसुस भयो भने मात्रै उसले टोक्छ । नाग आफ्नो बाटोमा, तपाईं आफ्नो बाटोमा हिँड्नुस् ।’

उनले नागपञ्चमीलाई शत्रुतालाई मित्रतामा बदल्ने दर्शनसँग समेत जोडे । नागलाई दूध चढाउने परम्परालाई उनले प्रेम, करुणा र मित्रताको प्रतीकका रूपमा व्याख्या गरे ।

उनले भने, ‘शत्रु मार्ने होइन, शत्रुलाई मित्र बनाउनुस् । शत्रुलाई मित्र बनाउने उपाय नै नागलाई पनि दूध अर्पण गर्ने परम्पराको एउटा सन्देश हो । दूध प्रेमको प्रतीक हो, करुणाको प्रतीक हो, मित्रताको प्रतीक हो ।’

त्यसैगरी नागपञ्चमीमा घरको मूल ढोकामा नागको चित्र टाँस्ने परम्पराले घरको सरसफाइ र स्वच्छताको सन्देश पनि दिने योगीको भनाइ छ । वर्षायाममा घर वरपर चिस्यान, ढुसी, फोहोर तथा पानी जम्ने भएकाले यस समयमा घरको विशेष सरसफाइ गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘नाग टाँस्नुभो भने अब घरको सफाइ पनि गर्नुस् । कहाँ अँध्यारो छ, कहाँ फोहोर छ, कहाँ पानी जमेको छ, कहाँ घाँस उम्रिएको छ, कहाँ चिस्यान र ढुसी बढेको छ—त्यतातिर पनि ध्यान दिनुस् ।’

उनका अनुसार नागपञ्चमीलाई घर तथा वातावरण सफा गर्ने सांस्कृतिक अवसरका रूपमा समेत लिन सकिन्छ । घर वरपरको फोहोर हटाउने, पानी जम्न नदिने तथा सर्प लुक्न सक्ने स्थान व्यवस्थापन गर्ने हो भने मानिस र सर्पबीचको अनावश्यक द्वन्द्वसमेत कम गर्न सकिने उनको धारणा छ ।

योगीले नागपूजाको मूल सन्देश नै प्रकृतिसँग सहअस्तित्व कायम गर्नु रहेको बताए ।

‘नागपूजाका माध्यमबाट हामीले आदि शक्ति, मूल प्रकृति शक्ति र सृष्टिको प्रारम्भिक शक्तिलाई सम्मान गरिरहेका छौँ । अहिलेका सर्पलगायत सबै जीवप्रति सम्मान र सहअस्तित्वको भाव राख्नुपर्छ,’ उनले भने ।

उनका अनुसार नागपञ्चमी धार्मिक आस्थाको पर्व मात्र नभई प्रकृतिको सम्मान, जीव संरक्षण, वातावरणीय स्वच्छता र मानव–प्रकृतिबीचको सहअस्तित्वको सन्देश दिने सांस्कृतिक पर्वका रूपमा पनि स्थापित हुँदै आएको देखिन्छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI