भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठद्वारा प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेट

लोकप्रिय खबर
२ भदौ २०८३, मंगलबार

काठमाडौँ। नेपालका सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र (बालेन) शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँहरूबीच भेटवार्ता सम्पन्न भएको हो।

नेपालका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुग्नुभएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानमन्त्री शाहबीच भएको उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको छ। भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि सहभागिता रहेको थियो।

भ्रमणको दोस्रो दिन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहँदै आएको छ।

सोमबार नै भारतीय सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता भई सैन्य सहयोग तथा सहकार्यका विषयमा छलफल भएको थियो। जनरल सेठ आफ्नो चारदिने भ्रमण पुरा गरी भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI